भारतमा लाखौं रुपैयाँका नेपाली टमाटर

भारतमा लाखौं रुपैयाँका नेपाली टमाटर

  • प्रकाश न्यौपाने

रुपन्देही । भैरहवा नाका हुँदै नेपाली टमाटर भारत निर्यात भइरहेको छ । भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमती दिएसँगै रुपन्देहीको बेलहिया नाका हुँदै टमाटर निर्यात भएको हो । यसअघि नेपाली टमाटर भारत निकासी हुँदैनथ्यो । तर, पछिल्लोपटक १२ मेट्रिकटन बढी टमाटर भारत निर्यात भएको हो ।

साउन २८ गतेदेखि भैरहवा नाका हुँदै भारतमा टमाटर निर्यात जारी रहेको छ । डायमण्ड इन्टरनेशनलले नेपाली टमाटर भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराइ निर्यातको सुरुवात गरेको हो । यो नै नेपालबाट भारततर्फ टमाटर निर्यात भएको पहिलो रेकर्ड हो । त्यस पश्चात अन्य कम्पनीलेसमेत गरी ४ गाडी टमाटर भारत निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । नेपाली टमाटर भारत निकासी हुँदा नेपाल–भारत दुवै भन्सार नाकामा शुल्क छुट गरिएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म १२ लाख १३ हजार ५ सय ९० रुपैयाँ बराबरको १२ हजार ६ सय २० किलो टमाटर भारत निर्यात भएको छ ।

नेपाली टमाटर भारतमा १ सय भारतीय रुपैयाँमा बिक्री हुने गरेको छ । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचिमा टमाटर पनि समावेश थियो । भारतमा टमाटरको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महंगोमा बिक्री हुने भएकाले सिमावर्ती नेपालबाट अवैध तरिकाबाट नेपाली टमाटर भारत जाने गर्दथ्यो । अहिले वैधबाटो बाटै निर्यात हुनथालेपछि उक्तकार्य रोकिएको छ । नेपाली टमाटर भारत निकासी गर्दा भने रोग, किरा नभएको जाँच गरी प्रमाणित गर्नु पर्ने प्रावधान छ ।

भारतमा टमाटर अभाव हुँदा पहिलो पटक नेपाली टमाटरले बजार पाएको हो । अहिले निर्यात भएको टमाटर पहाडी जिल्लाहरुबाट ल्याएर व्यापारीले निर्यात गरेका हुन् । कृषि मैत्री नीति लिइरहेको भारतले आयातलाई निरन्तर गर्छ की केही समयपछि रोक्छ भन्ने अझै एकीन छैन । यदि आयातलाई भारतले खुल्ला राखेमा बजार नपाएर छट्पटिइरहेका नेपाली किसानलाई राहत पक्कै मिल्ने छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *