
काठमाडाैं । अर्थमन्त्री प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् ।
देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताएका हुन् ।
उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न अनुरोध गरेका छन । मन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिएका छन ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सकियो
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरू भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २ सय २० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सकिएको हो ।
प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्छ । २ सय २० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरूमा १ सय ३२ केभीमा सञ्चालनमा ल्याइने जनाइएको छ ।
५ हजार २६६ करदाताको ‘फुल अडिट’
आन्तरिक राजस्व विभागले गतवर्ष ५ हजार २६६ करदाताको पूर्णकर परीक्षण (फुल अडिट) गरेको छ ।
विभागले नियमित पूर्णकर परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था अनुसार विभागले छनोट गरेका करदाताको कार्यालयले पूर्णकर परीक्षण गरेको जनाएको हो । हाल ५५ लाख ५४ हजार करदाता विभागमा दर्ता छन् ।
त्यसमध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदताको संख्या ३६ लाख र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदताको संख्या १८ लाख रहेको छ । तर, विभागले २ प्रतिशत करदाताको पूर्णकर परीक्षण गर्न सकेको छैन ।
गत वर्ष विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।
दैनिक अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता
साउन लागेपछि दैनिक अर्ब रुपैयाँको हाराहारीमा लगानीको प्रतिवद्धता आएको छ । साउनका २२ दिनमा साढे २० अर्ब रुपैयाँ बराबरका विभिन्न २० उद्योग दर्ता भएका छन् ।
यो अवधिमा एउटा ठूलो उद्योग दर्ता भएको छ भने दुई वटा मझौला र बाँकी १७ वटा साना उद्योग दर्ता भएका छन् । १७ वटामध्ये पनि सानो लगानीका चाइनिज रेस्टुरेन्ट धेरै छन् ।
उद्योग विभागका अनुसार ताप्लेजुङको फुङ्लिनमा १३ अर्ब २० करोड रुपैयाँ बराबरको लगातमा ७०.३ मेगावाट विद्युत उत्पान गर्न सिम्बुवा रेमिट हाइड्रोपावर दर्ता भएको छ ।
स्थानीयको शतप्रतिशत लगानी रहेको उक्त हाइड्रोपावरमा ५२ जनाले रोजगारी पाउने छन् ।
भारतमा १५ महिना यताकै चर्को महँगी
भारतमा पछिल्लो १५ महिनाकै उच्च बिन्दुमा खुद्रा मुद्रास्फीति पुगेको छ । जुलाई महिनामा भारतमा खुद्रा मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको छ ।
यसअघि सबैभन्दा धेरै मूल्यवृद्धि अप्रिल २०२२ मा ७.७९ थियो । त्यसपछि भने जुलाईमा नै मूल्यवृद्धि उच्च स्थानमा पुगेको छ ।
उपभोग्य वस्तुहरु, त्यसमा पनि बढी मात्रामा तरकारीको मूल्य बढेसँगै भारतमा खुद्रा मुद्रास्फीति उच्च बिन्दुमा पुगेको हो ।
गत जुनमा खुद्रा मुद्रास्फीति ४.८१ मा प्रतिशतमा थियो भने त्यसअघि मे महिनामा २५ महिनाकै सबैभन्दा कम ४.२५ प्रतिशतमा थियो ।
भारतको उपभोक्ता खाद्य मूल्य सूचकांक (सिएफपिई) जुलाईमा बढेर ११.५१ प्रतिशत भएको छ ।
भारतको केन्द्रीय बैंक आरबीआईले अनुमान गरेको भन्दा उच्चस्तरमा हाल भारतमा खुद्रा मुद्रास्फीति बढेको छ ।