काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शनिबारबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताएका छन् । प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको भट्टराईले जानकारी दिए । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा विद्युत निर्यात गरेको बताइएको छ । हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।
पूर्णबहादुरले जिते काठमाडौंमा घर
डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्णबहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । कम्पनीले ल्याएको अभियानमा युएईबाट नेपालमा रकम पठाएका थिए ।
शुक्रबार गोलाप्रथा गर्दा श्रेष्ठले घर पाएका हुन् । कम्पनीले असोज ७ गतेदेखि जेठ ६ गतेसम्म संचालन गरेको योजनामा सहभागी हुने एक जनालाई घर दिने घोषणा गरेको थियो । विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले रेमिटेन्स झन्झटरहित पठाउन सकिने व्यवस्था गर्न कम्पनी लागिपरेको जिकिर गरका छन् । इसेवाले १२ हजार भन्दाबढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
बालकुमारीमा सिएट टायरको नयाँ सोरुम
नारायणी अटो बिजनेस प्रालिले सिएट सप नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा सुरुवात गरेको छ । भारतको कम्पनी सिएट इन्डियाको उत्पादन सिएट टायर गुणस्तरिय र नेपाली बजारमा यसको माग निरन्तर बृद्धि भइरहेको नारायण अटोका प्रवन्ध निर्देशक अनुप बरालले दाबी गरेका छन् । नयाँ सोरुमबाट टायर कारोबार गर्नेले सिएट मोडल अनुसार ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बताइएको छ । सिएट टायरले पाँच ताराको मान्यता पाएको बताइन्छ । यस्तै, यसले इन्धन खपत समेत न्यून हुने दाबी गरिएको छ। सिएट टायर सुभारम्भ कार्यक्रममा सिएट इन्डिया अन्तर्गत अन्तराष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य राव, सिएट टायरको नेपालस्थित आधिकारिक विक्रेता एसटीसीका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेति लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शनिबार देखि सुरू भएको छ । प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिबारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
प्रदेश प्रमुख कार्यालयका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्। बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेवल गरिएको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजित बजेट २०८० मा समावेश हुने सुदूरपश्चिम प्रदेश सरकारको बजेट तथा कार्यक्रमको सिद्धान्त र आयोजना, प्राथमिकताको विवरण आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सभामा प्रस्तुत गरेका थिए । बैठकको शून्यमा समयमा बोल्ने सासंदहरूले सुदूरपश्चिम सरकारलाई बहुआयामिक समस्याले घेरेकाले सुधार गर्न सल्लाह दिएका छन् ।
दलितलाई नीति तथा कार्यक्रमले छोएन : परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको गुनासो गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई सुन नसकेको दाबी गरेका सांसद परियारले ाज्य व्यवस्थामा अंशियार नै खोज्ने भएपनि १३ प्रतिशत छुट्याउनुपर्ने तर्क राखेका छन् । दलितको अधिकार नीति तथा कार्यक्रममै नपरेको भन्दै दुख पोखेका सांसद परियारले प्रधानमन्त्रीको ध्याणाकर्षण समेत गराएका छन् ।
नीति तथा कार्यक्रमको औैचित्य नै छैनः बुद्धिमान तामाङ
प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रमको औचित्य नै नभएको बताएका छन् । शनिबारको संसद् बैठकमा उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना समावेश गराउन खोज्दा नपाएको गुनासो गरे । नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ नै नहुने बताएका उनले आफूहरुले बोलेर केहि नहुने भन्दै गुनासो पोखेका छन् । बोल्नु र नबोल्नुको अर्थ नहुने दाबी गरेका उनले जे भए पनि आफ्नो धर्म निभाउनै परेका कारण मात्रै छलफलमा सहभागी भएको तर्क राखेका छन् । अहिलेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्र कर्णप्रिय भएको उनले बताए । नीति तथा कार्यक्रम लक्ष्यविहीन रहेको टिप्पणी गर्दै उनले सरकारको गन्तव्य पनि स्पष्ट नभएको उल्लेख गरे ।



