भारतीय बजारलाई नेपाली गोलभेँडाको भर, दुग्धकिसान मारमा

भारतीय बजारलाई नेपाली गोलभेँडाको भर, दुग्धकिसान मारमा

काठमाडाैँ । लामो समयदेखी नेपालले करोडौँको गोलभेँडा भारतबाट आयात गर्दै आएकोमा पछिल्लो समय यो परिमाण ठिक उल्टो हुँदै गएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट भारततर्फ ८७ लाख ३० हजार रुपैयाँको गोलभेँडा निर्यात भएको छ । नेपालबाट साउन महिनामा ६ लाख ७० हजार किलोग्राम गोलभेँडा भारतमा निर्यात भएको विभागले जनाएको हो । भारतले गोलभेँडाको मूल्यमा अस्वभाविक मूल्यवृद्धि भएपछि नेपालबाट आयात गर्दै आएको छ । यस्तै भारतकी अर्थमन्त्री निर्मला सितारमणले भारतीय संसदमा नेपालबाट भारतका तीन राज्यमा गोलभेँडा आयात गरिएको बताएकी थिइन् ।

दुधको भुक्तानीको मारमा किसान

राष्ट्रिय दुध विकास बोर्डले प्रत्येक १५–१५ दिनमा किसानलाई दुधको मूल्य भुक्तानी गर्न निर्देशन दिएको छ । पछिल्लो समय देशभरी नै किसानबाट दुध खरिद गरेका डेरी उद्योगीले समयमा भुक्तानी नगरेको गुनासो बढ्दै गएपछि बोर्डले दुग्ध विकास संस्थान (डिडिसी), नेपाल डेरी एसोसिएसन र नेपाली डेरी उद्योग सङ्घलाई पत्रचार गरेको हो । हाल डिडिसीले मात्रै किसानलाई तीन महिनादेखि करिब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सूचना बाहिरिएको छ । डेरी उद्योगहरुले दुधको भुक्तानी नगर्दा आफुहरु निक्कै मारमा परेको गुनासो किसानहरुले गर्दै आएका छन् । यता डेरी उद्योगीले भने बजारमा दुधको माग घटेका कारण अहिले किसानलाई भुक्तानी गर्नमा केही समस्या देखिएको बताएका छन् ।

केन्द्रीय बैंकले दश अर्बको ऋणपत्र जारी गर्दै

नेपाल राष्ट्र बैंकले करिब १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले सरकारले उठाउने आन्तरिक ऋणका रुपमा आइतबार ६ वर्ष अवधिकालागि विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै उक्त ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

सयौँ भाषालाई अनुवाद गर्न सक्ने फेसबूकको एआई मोडेल

फेसबुकको मेटाले १०० भन्दा बढी भाषालाई अनुवाद तथा ट्रान्सक्राइब गर्न सक्ने एआई मोडेल तयार गरेको छ । टेक्स टु स्पिच अर्थात् लिखित सामग्रीलाई बोलेर सुनाउने तथा बोलेको कुरालाई अक्षरमा उतार्ने एआई मोडेल सिमलेसएम ४ टी कम्पनीले सार्वजनिक गरेको छ । उक्त एआईबाट सञ्चालित मोडेलले स्पिच टु स्पिच (बोलीबाट बोली) र स्पिच टु टेक्स्ट (बोलीबाट अक्षर) को क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गरेको मेटाले जनाएको छ । साथै मानिसहरूका हरेक कामकारबाहीलाई सहज बनाउन माग अनुसारको अनुवाद उपलब्ध गराउने मेटाले उल्लेख छ ।

नेपाली बजारमा एप्पल वाच जस्तै देखिने चिनिया घडी

नेपाली बजारमा एप्पल वाच जस्तै देखिने चिनिया सीडब्लूएट म्याक्स स्मार्टवाच भित्रिएको छ । चीनको कोर्न ब्राण्डले उत्पादन गरेको उक्त घडी एप्पल वाच जस्तै देखिने स्मार्टवाचको युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ । मेटल बडि भएको यो स्माट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्लेको प्रयोग गरिएको छ । रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु छन्, भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत व्यवस्था रहेको समाचारहरु बाहिरिएका छन् । दराजले आगामी मंगलबार उक्त स्मार्टवाच औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *