काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।
रविले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका छन् ।
शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।
नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे ।
भारत उडेको विमान किन फर्कियो नेपाल ?
काठमाडौंबाट भारतको बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्किएको छ ।
भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको उक्त विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएको हो ।
नेपाल एयरलाइन्सका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १५९ जना सवार थिए । त्यसमा सवारी यात्रीलाई अर्को विमानमार्फत आजै बैंग्लोर पठाउने तयारी गरिएको उनले बताए ।
यसरी फर्काइएका यात्रुलाई नेपाल एयरलाइन्सकै वाइडबडी ३२० विमानमार्फत गन्तव्यतर्फ पठाइएको छ । चरा ठोक्किएको आशंकामा फर्किएको विमानको प्राविधिक परीक्षणपछि निर्णय लिइने बताइएको छ ।
विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधाज्ञा
पहिचानवादीहरुले आन्दोलन चर्काउने देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार बिहानदेखि विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले शुक्रबार निषेधाज्ञा जारी गर्दै केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।




