भारत भ्रमणमा रेकर्ड बनाउने प्रचण्डको दाबी, रास्वपा सांसदको ड्रेसमा ओलीको दनक (न्युज रफ्तार)

भारत भ्रमणमा रेकर्ड बनाउने प्रचण्डको दाबी, रास्वपा सांसदको ड्रेसमा ओलीको दनक (न्युज रफ्तार)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो भारत भ्रमण नयाँ रेकर्ड बनाउने गरि हुने दाबी गरेका छन् । छिट्टै हुने भारत भ्रमण फलदायी र नेपालको वृहत्तर हीतमा हुने उनको दाबी छ । यस्तै प्रचण्डले शीर्ष तीन नेताहरुको भेटवार्ता नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न नभई मुलुकको परिवर्तन उल्ट्याउन प्रयासरत शक्तिविरुद्ध एकताबद्ध हुनका लागि भएको जिकिर गरेका छन् । प्रचण्डले जनयुद्धको बेला भएको दबाब, घेराबन्दी र सबैखाले प्रयासलाई चिरेरै अघि बढेको स्मरण गर्दै फेरि पनि देशका लागि केहि गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । गणतन्त्र र व्यवस्थामाथि हिलो छ्याप्ने प्रयास भइरहेको दाबी गरेका प्रधानमन्त्री प्रचण्डले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको र पुँजीबजार सम्बन्धी त्यहाँ हुने सबै सेटिङहरुलाई भत्काइदिएको तर्क राखे ।

संसदमा स्विमिङ पुलमा लाउनेजस्तो ड्रेस स्वतन्त्रता होइन : ओली

केही दिन पहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लगाएको पोसाकमा भएको टिप्पणी सेलाउन नपाउदै एमाले अध्यक्ष केपी ओलीले पोसाकबारे खरो वक्तव्य दिएका छन् । ओलीले संसद जस्तो मर्यादीत ठाउँमा आउँदा मर्यादीत पोसाकमै आउनुपर्ने भनाई राखेका हुन् । पोसाकबारे आक्रामक देखिएका ओलीले भनेका छन, ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ । स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ ? स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न । धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ । फर्किएर गुफातिर नपुगौँ ।’

उनले देशको संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । महिलाको सिन्दुर पुछेर बनाउने राष्ट्रिय परिचयपत्र फाल्दिए पनि हुने उनको तर्क छ ।

ओलीलाई मुर्ख राजा भनेका माधवको सरकार ढाल्ने चेतावनी

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले चाहेमा सरकार तत्काल ढाल्ने चेतावनी दिएका छन् । कम सिट आएको भनेर गठबन्धनमा हेपिएको संकेत गर्दै नेपालले यस्तो चेतावनी दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका उनले आफ्नो पार्टी विस्तारै ठूलो बन्दै गएको दाबी गरेका छन् । यस्तै, उनले एमालेबाट विद्रोह गर्नुको कारण खोल्दै केपी ओलीलाई मुर्ख राजाको संज्ञा दिएका छन् । मैले जे गरेपनि हुन्छ भन्ने मुर्ख राजाको जस्तै ओलीले अहंकारी र घमण्डी व्यवहार देखाएकाले एमालेबाट विद्रोह गरेको उनको तर्क छ । एमालेमा स्तुति गान गाउनेको मात्रै भविष्य रहेको आरोप लगाउदै नेपालले मुलुकमा पानीजहाज, भ्यू टावरको आवश्यकता नै नभएको दाबी गरेका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको जिकिर गरेका नेपालले सरकार ढाल्ने चेतावनी किन दिए भन्ने खुलेको छैन् ।

एमसीसी परियोजनामा सहयोग गर्छु : नारायणकाजी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कटू आलोचक समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमसीसीका उपाध्यक्ष जोनाथन बुर्क्सलाई परियोजनाका लागि आवश्यक प्रवन्ध मिलाउने वचन दिएका छन् । कुनै बेला एमसीसीको कटू आलोचक रहेका मन्त्री श्रेष्ठले सिंहदरबारमा एमसीसी उपाध्यक्ष जोनाथनलाई स्वागत गरेका हुन् । श्रेष्ठसँगको शिष्टाचार भेटमा जोनाथनले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ती, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । त्यसपछि श्रेष्ठले उनलाई परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने आश्वासन दिएका हुन् ।

होला त उच्च पदस्थको सम्पत्ति छानविन ?

नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने प्रश्नको सहज उत्तर हो, नक्कली शरणार्थी प्रकरण । राज्यका माथिल्लो निकायमा पुगेकादेखि नेतृत्वकर्ता नै आफू धनी बन्न कुन तहको काममा संलग्न हुने रहेछन भन्ने दृश्य सार्वजनिक भएकै बेला सरकारले आर्थिक वर्ष २०८०÷८१ मा उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा उच्चपदस्थ लगायत जोकोहीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइनेछ भनिएको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धमा पेश भएको विधेयकलाई चालु अधिवेशनबाट पारित गरिने बताइएको छ । तर, नेपालमा भ्रष्टाचारको छानविन गर्ने विषय उठ्दै आएपनि शीर्ष नेताहरु नै यो विषयमा खासै प्राथमिकता नदिने गरेको आरोप लाग्दै आएको छ । तर, नक्कली शरणार्थी प्रकरणले अब सरकारले केहि गर्छ कि भन्ने आशा भने सर्वसाधारणमा देखिन थालेको छ ।

रवि र गोकुलको फोटोले तहल्का

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खहरेको भेल जसरी उदाएको भन्दै राजनीति लामो समयसम्म नजाने भन्दै आलोचना गर्ने एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले सार्वजनिक गरेको फोटोमा विभिन्न टिप्पणी शुरु भएका छन् । कटु आलोचक रहेका बाँस्कोटाले शुक्रबार संसद् बैठकका क्रममा रविसँग भेट भएको तस्बिर शनिबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। अहिले दुई नेताबीचको तस्विरमाथि विभिन्न ट्रोल समेत भइरहेका छन् । व्यङ्गका साथै फोटोबारे प्रतिक्रिया आउनेक्रम बढ्दो क्रममा देखिन्छ । यद्यपी रविले यसबारे औपचारिक रुपमा प्रतिक्रिया दिइसकेका भने छैनन् । तर, यो फोटोमाथि अनेक ट्रोलहरु बनेर सार्वजनिक हुन थालेपछि भने फोटोको चर्चा थप बढेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *