भ्रष्टाचारमा मुछिएका व्यापारीहरूको बचाउ गर्दै एमाले

भ्रष्टाचारमा मुछिएका व्यापारीहरूको बचाउ गर्दै एमाले

काठमाडौँ । भ्रष्टाचार प्रकरणमा पक्राउ परेका केहि व्यापारी र चर्चित प्रकरणमा जोडिएका व्यापारीको पक्षमा एमालेले संगठित वकालत गर्न थालेको छ । एमाले भाटभटेनीका मालिक मीनबहादुर गुरुङदेखि यति होल्डिङ्सबारे सार्वजनिक चुुनौतिमा उत्रिन थालेको छ । ‘सरकारलाई अनुसन्धान गर’ भन्ने गरेका एमाले नेताहरुले ब्यवसायी गुरुङलाई पक्राउ गरेकोमा भने आपत्ति जनाइरहेका छन् ।

मुलधारका भनिएका ठूला राजनीतिक दलहरु ठूला व्यापारीहरुलाई पार्टीमा आकर्षित गर्न अनेकन उपाय अवलम्बन गर्ने गरेका छन् । त्यसको सबैभन्दा अग्रपंक्तिमा एमाले देखिने गरेको छ । कांग्रेसबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन चुनावको केहिदिन पहिलेसम्म खाँटी कांग्रेस थिए । कांग्रेसले प्रत्यक्षमा टिकट नदिएपछि रन्थनिएका भट्टचन एमाले प्रवेश गरेर समानुपातिक कोटाबाट संघीय सांसद बनिसकेका छन् ।

कुनैबेला कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने भट्टचनलाई देउवाले संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए । भ्रष्टाचारजन्य घटनामा राजनीतिक दलका एकपछि अर्को नाम जोडिरहेको छ । पछिल्लो समय यति होल्डिङ्को चर्चा चलिरहेको छ । यति होल्डिङ्ससँग एमालेकै नाम जोडिएको छ । यतिले सरकारसँग लिजमा लिएका विभिन्न क्षेत्रका जग्गा र यतिले कुनै बेला पर्यटनमन्त्री कसलाई बनाउने भन्ने विषयमा समेत हिस्सेदारी खोज्ने गरेको विषय आउने गर्दथ्यो । यस्तोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङ्स र वाइडबडीबारे छानविन गर्न चुनौति दिदै व्यापारीको घाँटी रेट्न सरकार उद्दत रहेको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले व्यापारीको घाँटी रेट्न सरकार उद्दत रहेको आरोप लगाएकै दिन एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि ललिता निवास जग्गा प्रकरणमा सीआईबीको हिरासतमा रहेका ब्यापारी गुरुङको खुलेरै बचाउ गरेका छन् । गुरुङको व्यापारिक साम्राज्यको वकालत गरेका पाण्डेले उनलाई थुनामा राखेर सरकारले गम्भीर गल्ति गरेको आरोप लगाएका छन् ।

गुरुङ नभाग्ने दाबी लिएका पाण्डे मात्रै नभई अन्य नेताहरुले पनि व्यापारीमाथि सरकारले कारबाही गर्दा थुनामा राख्नु वा आक्षेप लागेका विषयमा अनुसन्धान गर्नु नै हुन्न भन्ने जसरी पेश हुन थालेका छन् । व्यापार गरेर लाखौंलाई रोजगारी दिएपनि अपराध कर्ममा संलग्न भएपछि जोसुकै कानूनको नजरमा समान नै हुन्छन् । अदालतले ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्पक्षका लागि थुनामा पठाएका व्यापारीलाई थुन्न मिल्दैन भन्ने पाण्डे वा भ्रष्टाचार र अनियमिततामाथि छानबिन गर्दा नेताहरुलाई किन टाउको दुखाई भएको छ भन्ने प्रश्न अनुत्तरित छन् । भ्रष्टाचारको अन्त्य गर्न पहल गर्नुपर्ने राजनीतिक दलहरुले व्यापारी पोस्ने रणनीति अख्तियार गर्दा यसले मुलुकको समृद्धिमा पार्ने असर के हुन सक्छ भन्ने समेत हेक्का राख्न जरुरी छ । व्यापारीलाई आफ्नो पार्टीको समर्थक बनाउन र पार्टीको पूर्णकालीन कार्यकर्ता बनाउन गरिने विभिन्न ढाकछोपले अन्ततः मुलुकलाई दुर्गतितर्फ लैजाने भएकाले पनि नेताहरुले सचेतता अपनाउन आवश्यक छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *