भ्रष्टाचारविरुद्ध अब ठूलाठूला एक्सन लिन्छाैँ, तरङ्ग पनि ठूलै जानेछ : प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध अब ठूलाठूला एक्सन लिन्छाैँ, तरङ्ग पनि ठूलै जानेछ : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताएका छन् ।

 शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु ।  अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।”

थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री दाहालले बताए । विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति सङ्कल्प लिएर अगाडि बढेको उल्लेख गर्दै उनले अब भ्रष्टाचारविरूद्ध ठूलाठूला एक्सन लिने र त्यसको तरङ्ग पनि ठूलै जाने बताए ।

नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकता लगायतका विषयको टुङ्गो लगाउनुपर्ने चुनाैती रहेकाे समेत उनले बताए । सरकार र पार्टी नेतृत्वप्रति कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयंसेवकका रुपमा नेतृत्वलाई साथ दिन उनले आग्रह समेत गरे ।

स्व कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सेन बहुआयमिक व्यक्तित्वका धनी र निष्ठावान् व्यक्ति भएको बताए ।  क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा समाजको प्रेरणाको स्रोत भएको पनि उनले बताए ।

साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *