- अनमोल कार्की
रौतहट । ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले) चन्द्रपुर नगर कमिटीले अग्रज नेताहरुलाई सम्मान गरेको छ ।
कमिटीले आयोजना गरेका ‘जननेता मदन कुमार भण्डारी र जनताको वहुदलिय जनवादको सान्दर्भिकता’ विषय बिचार गोष्ठी तथा सम्मान कार्यक्रममा लामो समयदेखि एमालेमा आबद्ध भएकाहरुलाई उनीहरुको योगदानको कदर गर्दै १ सय ५ वर्षीया गुण कुमारी कुइकेल सहित ३४ जना अग्रज नेताहरुलाई सम्मानित गरिएको एमाले चन्द्रपुर नगर कमिटी उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिए ।

सम्मानित व्यक्तित्वहरुलाई एमालेका पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज पुरुषोतम पौडेल, केन्द्रिय सदस्य उद्धव रेग्मीले सम्मानपत्र एवम् गम्छा ओढाएर सम्मान गरेका थिए । आफूहरुलाई पार्टीले सम्झिएर सम्मान गरेकोमा निकै खुसी लागेको सम्मानित नेता भरत अधिकारीले प्रतिक्रिया दिए ।
पार्टीमा लागेपछि एकदिन कदर अवश्य हुन्छ भन्ने सन्देश यो सम्मानले दिएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलिय जनवादले समाज र देशलाई विकासको पथमा लैजाने कुरामा कुनै दुइमत नरहेको जनाए । उनले मदन भण्डारी र जीवराज आश्रितको मृत्युले देशले सम्भावना बोकेका नेताहरु गुमाउनु परेको स्मरण गर्दै उनीहरुको मृत्युले देशलाईनै ठुलो धक्का लागेको धारणा राखे ।

एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव प्रसाद आर्चायले नगर कमिटीले पार्टीमा आस्था राख्नेहरुलाई सुख, दुःख सदैव साथ दिने लक्ष्य लिएको जनाउँदै अग्रजहरुको योगदानलेनै पार्टी वलियो बनेको बताए ।
उनले मदन–आश्रितले बनाएको पार्टीको जगलाई निरन्तर पार्टीमा लागेर अग्रजहरुले मजवुद पार्ने काम गरेकाले उनीहरुको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुनेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश कमिटीका उपसचिव आरती भण्डारी , सदस्यहरु बाबुराम दाहाल , कृष्ण तिमल्सिना, वीर बहादुर गोले, टेकनाथ खरेल, जिल्ला संयोजक सचिदानन्दन साह, जिल्ला कमिटीका सदस्यहरु, नगर कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका सदस्यलगायतका नेता कार्यकर्ताको सहभागिता रहेका थिए ।





