पोखरा । सकारात्मक सोचको विकासका लागि युवामा गतिविधि गर्दै आएको सोच समूह मदरल्याण्डले गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगिता गरेको छ । सकारात्मक सोचको सेरोफेरोमा रहेर लिखित कवितामा पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम भए । चिसाखोला वेदविद्याश्रमका अर्जुन भट्टराई दोस्रो र पोखरा विश्वविद्यालयकै निकेश गिरी तेस्रो भए । भानुभक्त माविकी अञ्जना सुवेदी, पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विजय अधिकारी, पोखरा विश्वविद्यालयका सुजित चौधरी र सैनिक आवासीय माविका मञ्जिल भण्डारी सान्त्वना भए । प्रथमले २० हजार, दोस्रोले १२ हजार, तेस्राले ८ हजार तथा सान्त्वनाले २ हजार ५ सय साथमा प्रमाणपत्र प्राप्त गरेको मदरल्याण्ड माविका सञ्चार प्रमुख होमनाथ भट्टराईले जनाए ।
बिहीबार भएको प्रतियोगितामा प्रदेशभरबाट ९८ कविता दर्ता भएकोमा छनोट ७३ प्रतियोगी कवि तथा कवयित्रीले कविता वाचन गरेका हुन् । साहित्यकार डा. ईश्वरमणि अधिकारी, लक्ष्मण थापा तथा सरस्वती श्रेष्ठ ‘सरू’ निर्णायक थिए ।
प्रमुख अतिथि लोकनाथ आचार्य, विशिष्ट अतिथि कर्ण शाक्य, विद्यालय निर्देशक डा. त्रिभुवन शर्मा, प्रअ नारायण बराल लगायतले बोलेका थिए । सोच समूह युकेका संयोजक मेजर डमर घले, सोच समूह युएईका संयोजक हिरालाल श्रेष्ठ, कर्ण सकारात्मक ट्रस्टका संयोजक प्रवीण शाक्य लगायतको उपस्थिति थियो ।
सोच समूह मदरल्याण्डका संयोजक अर्विन ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक वीनित छन्त्याल तथा विद्यार्थी अनुश्रेया सुवेदी, अनमोल रत्न बज्राचार्य, कञ्चन पाण्डे लगायतले सञ्चालन गरेका थिए ।