
कार्यक्रममा खेलकुद विभागका प्रमुख गंगाबहादुर गुरुङलाई बल हस्तान्तरण गर्दै प्राचार्य नारायण बरालले उद्घाटन गरेका थिए । प्राचार्य बरालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलको महत्व र खेलकुदमा अनुशासनको भूमिकाबारे प्रस्ट पारे ।
यस वर्षको खेलकुद च्याम्पियनको उपाधि रातो सदनले जितेको छ । खुला तथा अन्तरसदनात्मक प्रतिस्पर्धा आधारमा पाएको अंक आधारमा रातो सदन च्याम्पियन बनेको हो ।
सो अवसरमा मार्चपास, फुटसल, दौड, रिले दौड, भलिबल, बास्केटबल, टेबलटेनिस, टग अफ वार, बेलुन ब्रस्ट, म्युजिकल प्लेट, चेस, हिसाब दौड लगायत खेल खेलाइएको थियो । जसमा कक्षा नर्सरीदेखि १० सम्मका सबै विद्यार्थी, कक्षागत, खुला तथा अन्तरसदनात्मक रूपमा जुनियर र सिनियर गरी तहगत सहभागी भएका थिए ।
भलिबलमा उत्कृष्ट खेलाडीको उपाधि छात्रातर्फ अछेता दाहालले र छात्रतर्फ समीप थापाले प्राप्त गरे । बास्केटबल सिनियरमा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फ संयोक गुरुङ र छात्रातर्फ एन्जल नेपालीले हात पारे भने जुनियरमा छात्रतर्फ केसाङ गुरुङ र छात्रातर्फ श्रेया बरालले जिते ।
फुटसल सिनियरमा सर्वाधिक गोलकर्ताको उपाधि छात्रतर्फ युवराज अधिकारी र उत्कृष्ट खेलाडीको उपाधि गृष्म महर्जनले हात पारे । छात्रातर्फ उत्कृष्ट खेलाडी अस्मिता दवाडी बनिन् । त्यस्तै, फुटसल जुनियर छात्रतर्फ सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडीको उपाधि एरिक कुँवर र छात्रातर्फको उत्कृष्ट खेलाडीको उपाधि आयुषी थापाले हात पारे ।
विजयी विद्यार्थीलाई प्राचार्य नारायण बराल, विज्ञान विभागका प्रमुख महेशकुमार प्रधान, नेपाली विभागका प्रमुख डण्डपाणि सुवेदी, सामाजिक अध्ययन विभागका प्रमुख गुरुदत्त दवाडी, गणित विभागका प्रमुख दीपक कुँवर, खेलकुद शिक्षक रामबहादुर बिकलगायतले प्रमाणपत्रका साथ खादा, मेडल तथा ट्रफी प्रदान गरे ।
खेलकुद विभागका प्रमुख गंगाबहादुर गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको उद्घाटन तथा समापन सत्रको सञ्चालन सहकार्यकलाप प्रमुख सुनिल सुवालले गरेका थिए ।