महाजात्रामा जोडिए दिव्यदेव, गौमाया र शिशिर

महाजात्रामा जोडिए दिव्यदेव, गौमाया र शिशिर

जात्रा र जात्रै जात्राको सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खलाको फिल्म महाजात्रामा नयाँ कलाकार जोडिएका छन्। नयाँ शृङ्खलामा हरिवंश आचार्यपछि दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङदेलसमेत जोडिएका छन्। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले उनीहरूको आगमनले टिमको लाइनअप अझै बलियो बनाएको बताएका छन्।

‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौं। शृङ्खलाप्रति दर्शकको बढ्दो विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरूको प्रिय कलाकारलाई कास्ट गरिरहेका छौकार्यकारी निर्माता बानियाँभन्छन्। स्थापित ब्राण्ड र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमायाले बताइन्।

उनले भनिन्, ‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पुरा हुँदैछ। दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु।’ आगामी १३ गतेबाट छायांकन गरिने फिल्ममा प्रदीप भट्टराईको लेखन र निर्देशन रहनेछ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन्।

यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो। फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नेछन्। महापुरुष र जात्रा शृंखलाजस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सको फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ। फिल्म छायाङ्कन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गरिने पक्का भएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *