
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि अनुशासनको प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवको विकल्प खोज्ने भन्दै दिएको अभिव्यक्तिमाथि नेताहरुले व्यङग्य मिश्रित चेतावनी नै दिए । संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको तयारीमा जुटिसकेको दाबी गर्ने गगनलाई बैठकमै सकस पर्नेगरि आवाज उठेपछि भने कांग्रेस बैठक थप रोचक बन्न पुगेको छ ।
विधानको व्यवस्था भन्दा ११ महिना ढिला गरेर कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ । बैठकमा बोल्ने क्रममा कांग्रेसको आन्तरिक जीवन धरमरमा त परेको छैन भन्ने प्रश्न उठाएका नेताहरुले महामन्त्रीद्वयको पुस्तान्तरण अभियानमाथि प्रश्न तेर्स्याउन थालेका छन् । संसदीय दलको चुनावमा देउवासँगै पराजित गगनले देउवाले अवकास लिनुपर्ने भन्दै बुढा नेताहरुको धङधङ्गी समाप्त पार्न आफू अघि सरेको र संसदीय दलको नेताको तयारीमा जुटेको बताउँदै आएका छन् ।
थापाको यस्तो अभिव्यक्ति र व्यवहारले अहिले बैठकमा उनकै विरुद्ध वातावरण निर्माण भइरहेको त छैन ? प्रश्न उब्जिएको छ । महामन्त्रीद्वयले जिल्ला सभापतिहरुको भेला बोलाएर विभिन्न विषयमा छलफल गराए । केन्द्रीय कमिटि बैठकमा यसको चर्चा जति भयो त्यति नै विरोध पनि । कांग्रेस नेता नैनसिंह महर लगाएतका नेताहरुले महामन्त्रीद्वयले बोलाएको भेलाको वैधानिकतामाथि समेत प्रश्न उठाए ।
नेता लक्ष्मी खतिवडाले त महामन्त्रीको विकल्प खोज्नु नपरोस भन्दै चेतावनी नै दिइन् । महामन्त्रीद्वयमाथि प्रश्न उठाउने नेता राधा घलेले पनि रुपान्तरणको पक्षमा वकालत गरेर कांग्रेसभन्दा व्यक्ति बलियो बन्न खोजेको आरोप नै लगाइन् ।
महामन्त्रीद्वय विरुद्ध विरोधका आवाज उठ्दै गर्दा बुढा नेताहरुले काम गर्न सक्दैनन् भन्ने भाष्य स्थापित गर्न खोजेको भन्दै रोष व्यक्त भइरहेका छन् । बैठकमा डोकोमा बाबुलाई भीरमा फाल्न लागिएको कथासमेत सुनाइयो ।
बैठक प्रत्यक्ष प्रशारण भएकै कारण पनि हुनसक्छ गगन–विश्वप्रकाशको पक्षमा खासै आवाज सुनिएको छैन । यसरी हेर्दा पुस्तान्तरणको पक्षमा निरन्तर वकालत गर्दै सार्वजनिक मञ्चबाटै उदघोष गरिरहेका नेताहरुमाथि आएको चुनौति उनीहरुका लागि आत्मघाती त बन्दैन ? आशंका गर्ने ठाउँ छ ।
महामन्त्रीद्वयले देउवाको विकल्प खोज्ने अभियान नै चलाउने उदघोष गरे पनि केन्द्रीय समिति बैठकमा देखिएको दृश्यले भने अर्कै संकेत गर्न थालेको विश्लेषण समेत गर्न थालिएको छ ।