
काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीहरु खेलकुद संघ जस्तै छिन्नभिन्न छन् । खेलकुद संघमा पनि कम्युनिष्ट पार्टीमा जस्तै फूट र विभाजन हुने गथ्र्यो ।
यहि रोग नेपालका कम्युनिष्ट पार्टीमा समेत व्याप्त छ । फुटको श्रृङ्खलाबाट आएका कम्युनिष्ट पार्टीहरु एकताका कुरा भने गर्न छाड्दैनन् ।
पछिल्लो समय कम्युनिष्ट एकताको तयारी अनुसार समाजवादी मोर्चाको अभ्यास भएको भनिएपनि त्यसले सफलता पाउला ? प्रचण्ड नेतृत्वको सरकारलाई आड भरोसा देला ?
नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको लडाई नै प्रधान रहेको पाइन्छ । मार्क्सवाद, लेनिनवाद र माओवादलाई पथपर्दशक सिद्धान्त मान्ने दलहरु पछिल्लो समय आफ्नै मौलिकता अनुसारको विचार प्रतिवादन गर्ने भन्दै विभिन्न धाराहरुको विकासमा देखिन्छन् । तर, क्रान्ति नै पुरा गरेपछि स्थापित मान्यता भने देखिन्न ।
समाजलाई चित्रण गर्ने मामलामा आएका कम्युनिष्ट धारणाहरु पुरानै शैलीमा पेश हुने गरेका छन् । तर, विचार र दर्शनको नाममा कम्युनिष्ट पार्टीहरु एकीकृत भने भइरहन सकेको देखिन्न ।
संसदीय मान्यतालाई स्वीकार गरेका कम्युनिष्ट पार्टीहरु एक सिटपनि जित्ने अवस्था नहुँदा पनि उनीहरुको आफ्नै पार्टी र परम्परा छ । तर, त्यसको प्रभाव भने शून्यप्रायः देखिन्छ ।
यस्तो अवस्थामा पुग्दा पनि पार्टीहरुको अस्तित्व कसरी रहिरहन सकेको छ त्यो अध्ययनको विषय बन्ला ।
ठूलो कम्युनिष्ट एकता भएको ठानिएको एमाले–माओवादी एकता भंग भएपछि फेरि कम्युनिष्ट जनमत बाँडिन पुग्दा कांग्रेसले यसको प्रयत्क्ष लाभ लियो ।
कांग्रेसलाई सघाउन तयार कम्युनिष्ट पार्टीका नेताहरु किन उनीहरु वर्ग, विचार, सिद्धान्त र दर्शन मिल्नेहरुसँगको एकतामा रम्न सक्दैनन ? यो आम प्रश्न हो ।
पार्टी विभाजनपछि यतिबेला पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारको नेतृत्व गरिरहेका छन् । उनले आफू नेतृत्वको सरकार लामो समय टिक्न नसक्ने संकेत गरिसकेका छन् ।
गठबन्धनमा आलोपालो सरकार चल्ने निश्चित भएको संकेत गरेका प्रचण्ड छोटो समयमै बिदा हुने त होइनन भन्ने आशंका पनि उत्तिकै छ ।
यहि पेरिफेरिमा समाजवादी मोर्चा बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि बनेको माओवादी उपाध्यक्ष पम्फा भुसालले दाबी गरेकी छन् ।
पम्फामा पनि ठूलो कम्युनिष्ट पार्टी निर्माणको रहर देखिन्छ । यता अन्य नेताहरुमा पनि जनमत घटिरहेको अवस्थालाई केन्द्रमा राखेर जबरजस्त मिल्नैपर्ने दबाब कायमै छ ।
यस्तो अवस्थाबाट गुज्रिएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डको बचाउ गर्दै कम्युनिष्ट सरकार ढाल्ने षडयन्त्र हुन थालेको दाबा गरे ।
माधवले यस्तो दाबी गर्नुमा पनि उनको स्वार्थ होला । तर, प्रचण्डको सरकार पुरा कार्यकाल चलेमात्रै उनी प्रधानमन्त्री बन्न पाउनेछन् । यसकारण पनि उनी प्रचण्डलाई काँध थाप्न राजी देखिन्छन् ।
यता, वस्तुस्थिति नजिकबाट नियालेका प्रचण्डले भने समाजवादी मोर्चालाई बाटो बनाएर सत्ता र राजनीतिमा पुनरागमनको प्रयास गरिरहेका छन् ।
समाजवादी मोर्चा, कम्युनिष्ट एकता वा विभिन्न नामले गरिएका राजनीति कति दिर्घकालीन होला ? प्रचण्डको सरकार कति समय जाला ? यो भविष्यले नै बताउला तर, सरकार घेराबन्दीमा परेको भने पक्कै छ ।
सरकारले संयमता राख्न सकेन र पछिल्ला समय सार्वजनिक काण्डहरुलाई निष्पक्ष छानविन गर्न सकेन भने यहिबाट कम्युनिष्ट जनमत ओरालो मात्रै लाग्नेछैन, कम्युनिष्ट भनिएका अनुहार नै संकटमा पर्नेछन् ।