
कपिलवस्तु, १३ कार्तिक — जनताको लामो समयको मागपछि मायादेवी गाउँपालिकाले अत्यावश्यक बरुण यन्त्र (दमकल) प्राप्त गरेको छ। उक्त दमकल जापान दूतावासको सहयोगमा र युनाइटेड मिशन टु नेपाल (UMN) को सहकार्यमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।
दमकल हस्तान्तरण कार्यक्रम युएमएनको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वलिउद्दिन खान र प्रशासकीय अधिकृत नरेन्द्र यादवले गाउँपालिकाको तर्फबाट दमकल ग्रहण गरेका थिए।
अध्यक्ष खानले दमकल प्राप्त हुनु गाउँपालिकाका बासिन्दाका लागि ठूलो राहतको विषय भएको बताए। उनले भने, “हरेक वर्ष आगलागीका घटनाले जनधनको क्षति पु-याउँदै आएकोमा अब तत्काल नियन्त्रण गर्न सहज हुनेछ। जापान दूतावास र युएमएनलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु।”
दमकल सञ्चालनमा आएपछि गाउँपालिकाभित्र हुने आगलागीका घटनामा तत्काल नियन्त्रण र उद्धार कार्य गर्न सहज हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले गाउँमै दमकल उपलब्ध हुन लागेसँगै सुरक्षाको दृष्टिले ठूलो राहत मिल्ने बताएका छन्।
अध्यक्ष वलिउद्दिन मुसलमानले सो जानकारी आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।




