मायादेवी–३ मा विद्यार्थीलाई स्विटर वितरण, १५ सय विद्यार्थी लाभान्वित

मायादेवी–३ मा विद्यार्थीलाई स्विटर वितरण, १५ सय विद्यार्थी लाभान्वित

शत्रुघन खरविन्द, माघ १५, कपिलवस्तु
मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले विद्यार्थीहरुको हितमा अनुकरणीय कार्य गर्दै कक्षा १ देखि ५ सम्मका १ हजार ५ सय विद्यार्थीलाई स्विटर वितरण गरेका छन्।

वडा नम्बर ३ फुलिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत “विद्यार्थी संग वडा अध्यक्ष कार्यक्रम” अन्तर्गत आज श्री जनता आधारभूत विद्यालय फुलिकाका २५६ जना, मुनेश्वर माध्यमिक विद्यालय बहरवासीका २८४ जना र मदरसा रियाजुलवलुम अल सल्फिया बरसौलीका २६२ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ। बाँकी विद्यालय र मदरसामा भोलि वितरण कार्यक्रम हुने जनाइएको छ।

वडा अध्यक्ष यादवका अनुसार, यस कार्यक्रमले जाडोबाट बचाउन मात्र नभई विद्यार्थीमा पढाइप्रति रुचि र उत्साह थप्ने लक्ष्य राखेको छ। विगत वर्षमा कापी, कलम, झोला जस्ता शैक्षिक सामग्री वितरण गर्दै आएको वडाले यस वर्ष स्विटर वितरणलाई प्राथमिकता दिएको हो।

कार्यक्रममा वडा सदस्य ईन्दु थारु, रामबृक्ष यादव, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, ओभरसियर शिवशंकर कुर्मी, समाजसेवी राजेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

वडाका ९ विद्यालय र मदरसामा अंग्रेजी माध्यमबाट कक्षा ३ सम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएको उल्लेख गर्दै अध्यक्ष यादवले आगामी दिनमा पनि शिक्षामा लगानी र सुधारका कार्यक्रम जारी रहने बताए। न्यानो स्विटर पाएपछि विद्यार्थीहरु खुसी देखिएका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *