मारुती सिमेन्टका सञ्चालकविरूद्ध पक्राउ पुर्जी, दुर्गा प्रसाईले कर्मचारीलाई तलव नै दिएनन्

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन् । मंगलबार संसदको अर्थ समितिमा बोल्दै अर्थमन्त्री महतले कुनैपनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने तर त्यसलाई पहिल्याउँदै जानुपर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै रहेको तर, भएका कामको प्रचार नहुँदा विकास नै नभएको भन्ने प्रवृति रहेको गुनासो पोखे ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको उल्लेख गरेका मन्त्री महतले राजस्व उठ्ने विषयमा समस्या देखिएको तर प्रगति भएको दाबी गरेका छन् ।

समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिईसकेकोले पनि आउँदो वर्ष अर्थतन्त्र चलायमान हुने संकेत देखिन थालेको उनले बताए ।

दुर्गा प्रसाईले कर्मचारीलाई दिएनन् तलव

विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ३ महिनादेखि कर्मचारीलाई तलब नदिई काममा लगाएको पाइएको छ ।

झापाको बिर्तामोडमा बी एन्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’का सञ्चालक प्रसाईंले सयौंको संख्यामा रहेका कर्मचारीलाई ३ महिनादेखि तलब दिन छाडेका हुन् ।

मेडिकल कलेज, क्यान्सर अस्पताल, होटलका लागि ८ वटा बैंकबाट ५ अर्ब ५७ करोड ऋण लिएका प्रसाईंले पछिल्लो समय बैंकको सावाँब्याज समेत भुक्तानी गरिरहेका छैनन् ।

बैंकहरुले भने उनलाई ऋणको सावाँब्याज नतिरे असूलीको कानूनी प्रक्रिया अघि बढाउने अर्थात लिलामी गर्ने चेतावनीसहितको पत्र पठाउन थालेका छन । तर, प्रसाई भने बैंकहरुको पत्र लिएर अदालत धाउन थालेका छन् ।

बी एण्ड सीमा ६१५ जना कर्मचारी छन् भने ४६६ जना डाक्टर कार्यरत छन् । क्यान्सर अस्पताल र होटेलमा गरि जम्मा १५ सयको हाराहारीमा कर्मचारी रहेको बताइन्छ ।

मारुती सिमेन्टका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी

कमसल सिमेन्ट बेचेको कसुरमा मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगीसम्बन्धी कसुरमा राठीसहित उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ अनुमति लिएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साह छन् ।

बिजनेस डाइरेक्टर ज्योति शर्मा भने यसअधि नै पक्राउ परेका छन् ।

उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो । प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै राजविराज नगरपालिका घर भएका पत्रकार दिवाकर साहले उनीहरूविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

बजारबाट २० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र« बैक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले १० दिने अवधिका लागि २० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो ।

यो असार २९ गते परिपक्क हुनेछ । रिपोमा बैंक, विकास बैंक, वित्त कम्पनीले लगानी गर्न पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरेको हुनुपर्ने छ ।

रिपोमा सहभागी हुन मंगबिार ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने व्यवस्था थियो ।

बोलकबोल विधिमार्फत भारित औसतमा ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत बजारको पैसा खिच्ने गर्दछ ।

बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ज्यादै न्यून रहेको छ ।

प्रणालीमा निक्षेप मात्रै संकलन हुने कर्जा प्रवाह नहुने भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बजारबाट पैसा उठाउन लागेको हो ।

१७० अर्ब वैदेशिक सहायतामा ४० अर्ब मात्रै अनुदान

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९\८० को जेठ महिनासम्ममा कुल १ खर्ब ७० अर्ब वैदेशिक सहायता प्राप्त गरेको छ ।

जस मध्ये १ खर्ब २९ अर्ब ऋण सहयोग रहेको छ भने बाँकि ४० अर्ब ६७ करोड अनुदान रहेको छ ।

कुल वैदेशिक सहायता मध्ये ७६.१४ प्रतिशत ऋण हो भने बाँकि २३.८५ प्रतिशत मात्र अनुदान हो ।

यसले वैदेशिक सहयातको ठूलो हिस्सा ऋण मात्र रहको देखाएको छ ।

नेपाललाई विदेशी सहायता प्रदान गर्ने निकाय कुल १० वटा मात्रै रहेका छन् ।

नेपाललाई वैदेशिक सहयोग गर्नेमा एसिलायी विकास बैंक, युरोपियन युनियन, फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, फिनल्याण्ड, जापान (जाइका), कोरिया (कोइका), नर्वे, स्विजरल्याण्ड, युके, र विश्व बैंकमात्र रहेका छन् ।

घट्यो आन्तरिक उडानको हवाई भाडा

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको छ । प्राधिकरणले सबैभन्दा बढी काठमाण्डौ–धनगढीको हवाई भाडा ६ सय १५ रुपैयाँले घटाएर ६ हजार १० रुपैयाँ कायम गरेको छ ।

यसअघि यो रुटको हवाई भाडा (फ्युल सरचार्ज) ६ हजार ६२५ रुपैयाँ रहेको थियो ।

यसैगरी प्राधिकरणले सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाण्डौ–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटाउँदै १ हजार २२५ रुपैयाँ कायम गरेको छ।

यसअघि यो रुटको हवाई भाडा १ हजार ३५० रुपैयाँ थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top