
- बिमल क्षेत्री
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका छन् ।
४ सिट रहेको राप्रपा तटस्थ बसेको छ । ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले विश्वासको मत पाएसँगै मन्त्रीपरिषद् विस्तार गर्न गृहकार्य शुरु गरेका छन् ।
वैशाख ११ गते विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री बनेको ५ दिनमै लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिएका चौधरीले मंगलबार ५३ जना बहुमत सांसदको विश्वासको मत पाएका छन् ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनमत , जसपा, नागरिक उन्मुक्ति, लोसपा लगायतका सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।
नेकपा एमालेका २९ जना प्रदेशसभा सदस्यले विपक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना प्रदेशसभा सदस्य तटस्थ बसे ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था भए पनि चौधरीले तत्काल विश्वासको मत लिएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ ।
एमालेले भने संविधानको धारा १६८ को उपधारा २ नभई उपधारा ३ बमोजिम सरकार बन्नुपर्नेमा जोड दिँदै आएको थियो ।
संसदमा विश्वासको मत पाएपछि चौधरीले संघीयताको मर्मलाई पुष्टी हुने र प्रदेशका जनतालाई उत्साह ल्याउने गरी काम गरेर देखाउने बताए ।
अहिले मुख्यमन्त्रीसंगै माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी विना विभागिय मन्त्री रहेका छन् ।
विश्वासको मतपाएसंगै मन्त्रिपरिषद् विस्तार गर्ने र मन्त्रालयको जिम्मेवारी दिने गरी गृहकार्य शुरु गरेको बताइएको छ ।