
काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले २०७९\८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेसँगै मुलुकको आर्थिक अवस्थाबारे विभिन्न टिप्पणी शुरु भएका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक ग-यो । जसमा चालु आर्थिक वर्ष २०७९\८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भएपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०७८\७९मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।
तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीका अनुसार चालु आर्थिक वर्ष २०७९\८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान छ ।
तथ्यांकले देखाएको आर्थिक वृद्धिको यो अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा पनि कम हो । यस्तै, चालु आर्थिक वर्षमा जीडिपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान छ ।
अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जिडिपी वृद्धिहुने अनमान गरिएको भएपनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभुत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरिएको छ ।
अन्य वर्षहरुको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ ।
यसरी मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण भएपछि यसबारे राजनीतिक र आर्थिक वृतमा टिप्पणी शुरु भएका छन् ।
प्रक्षेपण उपर पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले टिप्पणी गर्दै यो अवस्था आउनुको मुल कारक वर्तमान सरकार भएको आरोप लगाएका छन् ।
वार्षिक राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धिदर कम हुनुका कारणहरु
– कृषि, निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम
– चालु आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत
– निर्माण क्षेत्रको ०.६ प्रतिशत
– सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान
– चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जिडिपीमा ६२.४ प्रतिशत
– कृषि क्षेत्रको २४.६ प्रतिशत
– उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान
– चालु आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन
आधारभुत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान
– प्रतिवेदनमा नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०७९\८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान छ ।