
- युवराज आचार्य
झापा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार नगरसभा बैठकमा उपप्रमुख मीना पोख्रेल उप्रेतीले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार र पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३६७ रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वित्तीय व्यवस्था तर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख रुपैँया बजेट विनियोजन भएको छ ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख उप्रेतीले बजेट आयको स्रोत समेत सार्वजनिक गरेकी छन् । जसमा राजश्व मार्फत ४० करोड ४३ लाख ५४ हजार ५ सय ५५ आय अनुमान गरिएको छ भने आन्तरीक स्रोत मार्फत १२ करोड ८७ लाख आयको अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार मार्फत ३ करोड ९१ लख ६ हजार आय अनुमान गरिएको छ । कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर उपप्रमुखले बजेट ल्याएकी हुन् ।
नगर प्रमुख बुढाथोकीको अध्यक्षतामा आज बसेको नगरसभाको वैठकमा झापा १ का संघिय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद शर्माले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको र यसको कार्यान्वयनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले जनताका अपेक्षा अत्यन्तै धेरै भएको बताउँदै उनले जुन प्रस्तुत गरिन्छ त्यसमा गम्भिरतापूर्वक लाग्न र प्रस्तुत नीति तथा कार्यक्रम सफल बनाउन सुझाव दिए ।
कार्यक्रममा प्रमुख अतिथी सांसद शर्मासँगै कोशी प्रदेश सभा सदस्य द्वय गोपाल तामाङ, सविना बजगाँइ, जिल्ला समन्वय समिति सदस्य तुलसा काफ्ले बराल, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रशाई, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कमल गौतम, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर सचिव विशालकृष्ण बाँस्तोला, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेको मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले जानकारी दिए । नगरसभा बैठकको सञ्चालन मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए ।