
- युवराज आचार्य
झापा । नेपालको मुख्य अन्तर्राष्ट्रिय नाकामध्येको पूर्वी नाकास्थित मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षमा लक्ष्यको ७० प्रतिशतमात्रै राजस्व संकलन गर्न सफल हुने भएको छ । योसँगै कार्यालयले आ.व. २०७९/०८० को वार्षिक राजश्व असुलीको ३० प्रतिशतलक्ष्य पूरा गर्न नसक्ने भएको छ ।
काँकरभिट्टा हुँदै नेपाल भित्रिने पेट्रोलियम पदार्थ लगायतका सामान आयातमै कमी आउँदा राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार भारत, बंगलादेश, भुटान तथा तेस्रो मुलुकबाट आयात हुने पेट्रोलियम पदार्थ, क्लिङ्कर, कच्चा पदार्थ, पेय पदार्थ, खाद्य वस्तु, कोइला लगायतका आयात शून्य भएपछि राजश्व घटेको भन्सार कार्यालयले जनाएको छ । तर, आयातको कमिले मात्रै राजस्व लक्ष्य पुरा गर्न नसकेको ब्यवसायीहरु अस्वीकार गर्छन् ।
भन्सार विभागले आर्थिक वर्ष ०७९/८० को लागि मेची भन्सार कार्यालयलाई २० अर्ब २४ करोड १८ लाख ३८ हजार रूपैँयाको राजश्व असुलीको लक्ष्य दिएको थियो । तर कार्यालयले असार २५ गतेसम्ममा १३ अर्ब ८५ करोड मात्र राजश्व असुली गरेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।
वीरगञ्ज, भैरहवा, काठमाडौै, बिराटनगरपछिको राजश्व असुलीमा मुख्य योगदान पुर्याउँदै आएको मेची भन्सारले आफ्नो लक्ष्य पूरा गर्न करिब ६ अर्ब ४० करोड राजश्व असुली गर्न बाँँकी देखिन्छ । तर, चालू आर्थिक वर्ष सकिन तीन दिन मात्र बाँकी छ । त्यसैले अब लक्ष्यपूर्ण प्राप्ती सम्भव नरहेको भन्सार कार्यालय स्विकार्छ । कार्यालयका अनुसार राजश्व असुली हुने मुख्य १० वटा माल वस्तु पर्दछन् । जसमा मुख्य त पेट्रोलियम पदार्थ नै हो । गतवर्ष ११ अर्ब पेट्रोलियम पदार्थबाट राजश्व असुली भएको थियो भने यो वर्ष ५ अर्बमात्र पेट्रोलियम पदार्थबाट राजश्व असुली भएको छ । सुपारी, रेडिमेड कपडा, इलेक्ट्रिकल लगायत वस्तुको आयात पनि शून्य जस्तै छ । खुल्ला सिमानाका कारण भन्सार छलि गरी सामान ओसारपसार गर्न ठुलै गिरोह सक्रिय रहेका कारण पनि राजश्वमा कमी आउने गरेको छ ।