मेची भन्सार : १०० को सामानमा भन्सार असुल्दै, १ करोडको सामान विनाभन्सार पास !

मेची भन्सार : १०० को सामानमा भन्सार असुल्दै, १ करोडको सामान विनाभन्सार पास !

  • युवराज आचार्य

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट भन्सार नतिरी पास गराइएको १ करोडभन्दा बढी मूल्यको सामानसहित कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । एक करोड बढी मूल्यको सामानसहित प्रहरीले काँकरभिट्टाबाट एउटा कन्टेनर नियन्त्रणमा लिएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले सर्वसाधारण जनतालाई १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार कटाउँदै आए पनि १ करोड १ लाख मुल्य बराबरको सामानसहितको कन्टेनरलाई भने विनाभन्सार निस्कन दिएको पाइएको छ।

भन्सारमा राजश्व नतिरी निस्किएको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमुवा प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समन्वयमा नियन्त्रणमा लिएपछि साे रहस्य सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले हिजो साँझ ७ः३० बजेको समयमा विशेष सूचनाको आधारमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित पुरानो भन्सार ट्राफिक पोस्ट नजिकैबाट कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै उक्त कन्टेनरका चालक फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । कन्टेनर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर सरसामान चेकजाँच गर्दा १ करोड १ लाख बराबरको सामान पाइएको बताए ।

कन्टेनरमा ७ लाख २० हजार मूल्य बराबरको हुक्कामा प्रयोग हुने कोकोजेल चारकोल ६० कार्टुन, २० लाख मूल्य बराबरको अफजोल फ्लेभर ८० कार्टुन, ७३ लाख ९५ हजार मूल्य बराबरको काँचको झ्याम्टा २ हजार ४ सय ६५ केजी, १२ हजार ५०० मूल्य बराबरको टेलिफोन साबुन २५ कार्टुन गरी १ करोड १ लाख २७ हजार ५ सय मूल्य बराबरको सामान रहेको  प्रहरीले जनाएकाे छ । कन्टेनरको अन्दाजी मुल्य २० लाख गरी जम्म १ करोड २१ लाख २७ हजार ५ सय बराबरको सामान राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीकाे तयारी छ ।

यता यस बिषयमा भन्सार प्रमुख रामप्रसाद रेग्मीसँग बुझ्दा आफु एक हप्ताको लागि बिदामा काठमाडौं रहेको बताए । उनले यस वसषयमा आफुलाई जानकारी आएलगत्तै भन्सारमा आफ्ना कर्मचारीसँग बुझ्दा कन्टेनर भन्सारको नभई ढुवानीको रहेको पाइएको प्रतिक्रिया दिए । उनले भने ‘हामीलाई प्राप्त जानकारी अनुसार याे कन्टेनर भन्सारबाट बाहिरिएको होइन, ट्रान्सपोर्टेसनको कन्टेनर हो भन्ने जानकारी छ । यद्यपि हामी अनुसन्धान गरिरहेका छौँ ।’

यसरी जनतालाई नाकामा १०० रुपैयाँभन्दा बढी मुल्यको घरायसी सरसामान ल्याउँदा अनिवार्य भन्सार शुल्क तिराउने कर्मचारीहरुले करोडौं मूल्यसहित कन्टेनर छाडिदिनुले उनीहरुको कार्यसम्पादनमा नै प्रश्न उब्जेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *