
कपिलवस्तुको सूठौली भन्सार नाकाबाट मोटा चामलको नाममा मसिनो चामल भित्र्याउने दीर्घकालीन चलखेल फेला परेको छ। बिल–बिजकमा उल्लेखभन्दा फरक र बढी परिमाणमा चामल बोकेका ३ वटा भारतीय टेलर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
सूठौली भन्सार हुँदै नेपाल प्रवेश गरेका ती टेलर गाडीलाई जाँचका क्रममा शंका लागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार, बाहिरी भागमा मोटा चामल राखेर भित्र मसिनो चामल लुकाएर ल्याइने गरिएको पाइएको हो।
जफत गरिएका ३ गाडी र चामलको मूल्य करिब १ करोड ८० लाख १४ हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरिएको चामल र टेलर गाडीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ।
स्थानीयवासीका अनुसार, भन्सार क्षेत्र हुँदै वर्षौंदेखि यस्ता किसिमका गतिविधि चल्दै आएका छन्, जसले राजस्व चोरी र बजारमा असमान प्रतिस्पर्धा बढाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।




