काठमाडौँ । यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले २०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताए । उनले सोमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताए । त्यस्तै यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उनले जानकारी गराए ।
‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु । २०७९ श्रावण महिनादेखि हालसम्म तिन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात रहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ । धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन । शुरुमा रासायनिक मलका लागि रु १५ अर्ब विनियोजन भएपनि थप रु २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ । यसबाट सरकार किसानहरुका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ । मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको छ भने वितरण कार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएको छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको समेत बताए ।