भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। यो दुखद खबरले सम्पूर्ण भारतलाई शोकमा डुबाएको छ। उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिएका थिए। रतन टाटा एक उत्कृष्ट व्यापारी, समाजसेवी र टाटा समूहको प्रतिष्ठित चेहरा थिए।
रतन टाटाको निधनसँगै अब टाटा समूहको भविष्यबारे व्यापक चर्चा सुरु भएको छ। टाटा समूहको उत्तराधिकारी को हुने भन्ने प्रश्न अहिले उठिरहेको छ। टाटा समूहको स्थापना झन्डै १५० वर्षअघि जमशेदजी नौशेरजी टाटाले गरेका थिए। आज यो समूह संसारभरि चिनिएको छ र यसमा १०० भन्दा बढी कम्पनीहरू सामेल छन्।
टाटा समूहको कारोबार ३८०० करोडभन्दा बढी छ, जसले यसलाई भारतकै सबैभन्दा ठूला व्यापारिक साम्राज्यहरूमध्ये एक बनाएको छ। हालै मात्र, टाटा समूहले एयर इन्डियालाई अधिग्रहण गरेको थियो, जसले समूहको शक्ति र व्यापारिक क्षमतामा थप वृद्धि गरेको छ।
रतन टाटाको योगदान र नेतृत्वले टाटा समूहलाई नयाँ उचाइमा पुर्याएको छ। उनको निधनले भारतको व्यापारिक जगतमा ठूलो शून्यता ल्याएको छ।