
सल्यान / कार्तिक १५
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन सम्पन्न गरेको छ। जिल्लाको थारमारेमा दलित समुदायका नेताकार्यकर्ताको उपस्तिथितिमा उक्त भेला र प्रदर्शन सम्पन्न भएको हो । उक्त प्रदर्शनको उद्देश्य ” समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं ” भन्ने मुल नाराका साथ उक्त जनप्रदर्शन सम्पन्न भएको हो ।

राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व लगायत माग राख्दै केहि महिना यता राष्ट्रिय दलित जागरण अभियानले देशका विभिन्न भागमा आमसभा , रैलि , गोष्ठी लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
अझैपनि जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडन भैरहेको र जबसम्म दलितले समाजमा निर्धक्क संग आफ्नो हक अधिकार सहित बाच्न पाउने अवस्था हुँदैन तबसम्म यस्ता जागरण र बिरोध अभियान जारी राख्ने आयोजक खगेन्द्र सुनारले जानकारी दिए । अझैपनि राज्यले दिएको अधिकार ब्यवहारिक रुपमा लागु नबएको हुँदा हिजो अरुका लागि लड्यौं अब आफ्नो समुदायको लागि लडन कार्यक्रममा उपस्थितलाइ सुनारले आग्रह गरेका थिए ।

यसअघि अभियानले पश्चिमको दैलेख र पुर्बको सप्तरी जिल्लामा जनप्रदर्शन गरिसकेको बताउदै सुनारले सल्यानमा सोमबार आयोजित प्रदर्शनमा समेत जाजरकोट , सुर्खेत, रुकुम , दाङ जिल्लाका दलित समुदायका मानिसहरुको समेत ठूलो संख्यामा उपस्थिति रहेको बताएका छन् ।
जनसभा प्रदर्शनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल जिल्ला कमिटि दाङका अध्यक्ष केशव नेपाली, दलित अधिकारकर्मी प्रेमनारायण वि.क लगायत दलित अगुवाहरुको सहभागिता थियो।