राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतालाई बुझाउनुपर्ने कुरा

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतालाई बुझाउनुपर्ने कुरा

यति बेला मुलुक विकराल अवस्थामा छ । दिनहुँजसो विभिन्न काण्डहरु उजागार हँुदै छन् । देशका मसिया भनिएका नेता र तिनका कार्यकर्ताहरु भष्टाचार, बेथिति, विसंगतितिर उमुख हुँदै छन् । यी घटनाक्रमहरुले मुलुकलाई गम्भीर दुर्घटनातिर लैजाने संकेत देखिँदै छ । यस कारण अब यो व्यवस्थाले देश र जनताको हित हुन सक्दैन । यी घटनाक्रमहरुले पनि यस्तै देखाइरहेका छन् ।

ललिता निवास प्रकरण मलाई लाग्छ, यो गणतन्त्रले नेपाली जनतालाई दिएको एउटा उपहार हो । देशलाई सिंगापुर, स्वीट्जरल्यान्ड बनाउँछु भन्ने दल र तिनका नेताहरुले आज हाम्रो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर देशकै अन्तर्राष्ट्रिय रुपमा बेइजत गरिरहेका छन् । भूमिहीनलाई जग्गा दिलाउँछु भन्ने गणतन्त्रका ठेकेदारहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि ललिता निवासजस्ता काण्डहरु घटाइरहेका छन् । देशका निवर्तमान प्रधानमन्त्री, गृहमन्त्रीजस्ता जनताले विश्वास गरेका पात्रहरु नै यस्ता काण्डका योजनाकार देखिन आएको हुँदा जनता र देशले निकास पाउनेभन्दा पनि राजनीतिक दल र तिनका नेताहरुको स्वार्थ पूर्तिका निम्ति यो व्यवस्था आएको पुष्टि हुन्छ । तसर्थ ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणलाई अब जनताले गम्भीरतापूर्वक लिनुपर्छ । र, हामी सबै जाग्रित भएर यो यसका विरुद्ध आन्दोलन गर्नुको विकल्प देखिँदैन ।

अनेकौँ काण्डहरुको बीच अहिले सुन काण्डमा पनि विभिन्न दलका नेताहरुको नाम मुछिएको छ । कुनै सामान्य व्यक्तिले गर्न सक्ने सुन काण्ड होइन । सामान्य व्यक्तिले अर्बौंको सुन ल्याउनै सक्दैन । तसर्थ यो सुन काण्डमा पनि राजनीतिक दलकै नेता प्रमुख जिम्मेवार देखिएका छन् । यो सुन काण्ड पनि गम्भीररुपमा छानबिन गर्नुपर्छ । पहिलाजस्तै सुन काण्डलाई अहिले पनि सामसुम पार्नुहुन्न । हालै प्रधानमन्त्रीले पनि विभिन्न मिडियामार्फत छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्रीले पनि प्रतिबद्धता जनाउनुभएको छ । आफ्नै पार्टीका नेता–कार्यकर्ता भए पनि उहाँहरुले कारबाही गरेर देखाउन सक्नुपर्छ ।

राप्रपा यति बेला नवीन राप्रपा अभियान लिएर अघि बढिरहेको छ । जस अनुुसार हामीले नयाँ युवा पुस्तालाई पार्टीमा जोड्ने, भित्र्याउने, ३३ प्रतिशत महिलालाई पार्टीका तल्ला निकायदेखि नै सक्रिय बनाउने, संगठन गर्ने, पुनर्गठन गर्ने, साथै हाम्रा एजेन्डाहरु सनातन हिन्दू राज्य, राजसंस्था, भ्रष्टाचारविरोधी कार्यक्रमहरु लिएर जनतामा जाने र जनतालाई जाग्रित गर्दै यो व्यवस्था विरोधी आन्दोलन गर्ने मार्गमा अघि बढिरहेको छ राप्रपा । राप्रपाको एजेन्डाका महत्व, यसका भूमिकाहरु वडा तहका कार्यकर्ता, जिल्ला क्षेत्र, नगरका नेतृत्वहरुलाई प्रशिक्षित गर्दै आम जनतामा स्थापित हुने मार्गमा राप्रपा अघि बढिरहेको छ । प्रमुख दलका विगतको मार्गचित्र गलत छ । यही व्यवस्थामा रहिरहने हो भने देशको उन्नति, प्रगति हुनेभन्दा पनि देश गम्भीर दुर्घटनातिर लम्किनेछ । नेपालमा विभिन्न राजनीतिक दलहरु छन् । कसैले माओ मान्छन्, कसैले स्टालिन मान्छन्, कसैले गान्धी, मण्डेला मान्छन् तर राप्रपामात्र यस्तो राष्ट्रवादी पार्टी हो, जसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श मानेर देश र जनताको हित गर्नुपर्छ भनी लागिरहेको छ । राप्रपाले जनतालाई यही र यस्ता कुरा बुझाउन ‘नवीन राप्रपा’ अभियान सञ्चालन गरिरहेको हो ।

यसो त विश्वमा हेर्दा केही देशमा अहिले पनि राजसंस्था छ । तीन देशमा अहिले पनि राजसंस्था छ । तीन देशहरुले उन्नति, प्रगति पनि गरिरहेका छन् । बेलायतमा महारानीको स्वर्गवास हुँदा हाम्रो देशका नेताहरु लाइन लागेर समवेदना व्यक्त गर्न जान्छन् तर आफ्नै देशमा रहेको राजसंस्थालाई अन्त्य ग¥यौँ भनेर गर्व गर्छन् । विश्वमा रहेका राजसंस्था मान्नेहरुलाई पनि हामीले गिज्याइरहेका छौँ । आयातीत तन्त्र र वादको नाममा राजसंस्थालाई पाखा लगाएर, विदेशी प्रायोजनमा नेपालका गणतान्त्रिक नेताहरु रमाइरहेका छन् । जनतालाई धोका दिएर, भ्रमको खेती गरेर, आज आफैँ राजा बनेर आम जनतामाथि शासन गरिरहेका छन् । अहिले हाम्रो देशमा राजसंस्थाको महत्व पनि आम जनताले महसुस गरिरहेका छन् । वास्तवमा नेपालको राजसंस्था विकास बाधक होइन रहेछ र जनताको सुख–दुःखको साथी रहेछ भन्ने कुरा जनताले बोध गरेकै कारण राजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाइरहनुभएको छ । राजसंस्था भनेको राष्ट्रिय एकताको प्रतीक हो । पूर्व मेचीदेखि पश्चिम महाकालीका जनतालाई महसुस भएको कुराको दायित्वबोध गरी उहाँ सक्रिय भएर जनतामाझ जानुभएको हो । कतिपय दल र तिनका नेता–कार्यकर्ताले राजा सक्रिय भएकोमा खुशी व्यक्त गरिरहेका छन् ।

राजा सक्रिय हुनेबित्तिकै विदेशी आयातीत तन्त्र र वाद मान्ने र विदेशी प्रायोजित मान्छेहरु रिसाउनु स्वाभाविकै हो । हिजो २०६२÷६३ मा जुन प्रतिबद्धता गरेर आन्दोलन गरिएको थियो, सो अनुरुप राजनीतिक दलहरुले प्रतिबद्धता पूरा नगरेपछि, केवल राजसंस्थालाई आरोप–प्रत्यारोप गरेर सत्ताको फोहोरी खेलमा लागेपछि, स्वस्फूर्तरुपमा आम जनताले राजाको सक्रियता चाहेका हुन् । राजाका यस्ता गतिविधि र जनतासँग प्रत्यक्ष भेटघाटबाट भोलि यो व्यवस्था ढल्न सक्ने, आफ्ना दलको नेताहरुको स्वार्थपूर्ति नहुने भएकाले त्यस्ता राजनीतिक दल र नेताहरुले असन्तुष्टि जनाएका हुन् । राजा नागरिक भएर आफ्नो देश घुम्न पाउनु र जनतासँग प्रत्यक्ष संलग्न भएर हिँड्नु उहाँको पनि संवैधानिक अधिकार हो । यो अधिकारलाई कुनै व्यवस्था, राजनीतिक दल वा नेताहरुले अंकुश लगाउनु भोलि उहाँहरुकै लागि दुर्भाग्य हुनेछ ।

महँगी, कालोबजारी, भ्रष्टाचार, तस्करी यी कुराहरु विगतमा भन्दा अहिले हाम्रो देशमा मौलाउँदै गएको छ । देशमा विधिको शासन स्थापना गर्न, कालो बजार, महँगी नियन्त्रण गर्न, सरकार, राजनीतिक पार्टी र तीनका नेता–कार्यकर्ताहरुले यो विषयलाई महत्व दिएको पाइँदैन । आम जनताले दैनिक जीवनयापन गर्न निकै कष्ट भोग्नुपरिरहेको छ । जनताका हक–अधिकारका लागि लड्नेभन्दा पनि अनेकौँ काण्ड बाहिरिँदासमेत दलहरु आफ्ना मान्छेलाई कसरी बचाउने भन्नेमा केन्द्रित भई बैठक बस्छन् । महँगी, कालोबजारी र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने अनि आम जनतालाई कसरी दैनिक जीवनयापन गर्न सहज बनाउने भन्ने कुरामा उनीहरु कल्पनासमेत गर्दैनन् । नेपालको तरकारी, फलफूल, खाद्यान्न र अन्य औद्योगिक सामग्री उत्पादन गरेर सर्वसुलभ ढङ्गबाट जनतामा लानेभन्दा पनि कमिसन खाएर बिचौलियामार्फत देशमा आयातीत सामग्रीहरु भित्र्याउने कारणले गर्दा पनि महँगी नियन्त्रण नभएको देखिन्छ ।

हाल देशमा विद्यमान समस्या– बेरोजगारी, महँगी, भ्रष्टाचार, बेथिति, विसंगतिको अन्त्य यो व्यवस्थाबाट हुने देखिँदैन । जनताले आशा गरेका कुराहरु मौलिक हक–अधिकार, स्वास्थ्य, शिक्षाजस्ता कुराहरु पनि केवल नारामा मात्र सीमित देखियो । केही वैकल्पिक शक्ति भन्नेहरु पनि देखिए । तर उनीहरुले पनि देशको यही अवस्थामा रहेर जनता र देशको अवस्था बदल्न सक्ने छाँटकाट देखिएन । यसर्थ यदि साँच्चै नेपालको अवस्था बदल्ने हो भने, देश र जनताको उन्नति गर्ने हो भने, हामी सबैले माटो सुहाउँदो लोकतान्त्रिक विधि, पद्धतिहरु अँगाल्नुपर्छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आदर्श मानेर सनातन हिन्दू राज्यलाई पुनस्र्थापना गर्दै, राजसंस्थाको पनि पुनस्र्थापना गर्दै, हाम्रा पुर्खाको वीरता र भावी सन्ततिको भविष्यलाई हामीले सुनिश्चित गर्नुपर्छ । नेपालको शक्तिको स्रोत भनेको नै आम जनता हुन् । त्यसैले आम जनतालाई जाग्रित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो एजेन्डा जनतामा स्थापित गर्नुपर्छ । सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बी, राष्ट्रवादी, शुभचिन्तक साथीभाइहरुलाई एकजुट भएर अघि बढ्न राप्रपा हार्दिक अपिल गर्दछ ।

(लेखक थापा राप्रपाका केन्द्रीय सदस्य हुनुहुन्छ)

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *