
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको संसद पहिलेदेखि नै विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले चाहिँ झनै असभ्य हिसाबले चल्न थालेको बताए । संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताउँदै उनले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी रुपमा उठेर बोल्ने गरेको बताए । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको उनको भनाइ छ ।
सांसद गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा अहिलेको संसद खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए ।
‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसदमा त्यस्तो हुँदैन,’ सांसद गौतमले भने, ‘परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ । हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौं । यसलाई समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएको हुनाले यो संसद पहिलो होइन । भन्ने गरेका छौं । पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो ।’
उनले कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । संसद भनेको सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने मात्रै थलो भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने उनको भनाइ छ ।