
काठमाडाैँ । वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले उक्त निर्णय गरेका हुन् । उक्त निर्णय कार्यान्वयनका लागि आइतबार मात्र नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको छ । जुन, राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र कार्यान्वयन हुनेछ । उक्त निर्णय कार्यान्वयनमा आएपछि तत्काल बैंकहरुमा करिब ६० अर्ब रुपैयाँ थपिनेछ । बैंकहरुले गत असार मसान्तसम्म स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्दै आएका थिए । अहिले यसअघिको ८० प्रतिशतको सीमा घटाएर ६० प्रतिशत बनाएर फेरी उक्त सुविधा निरन्तर गरिएको हो ।
हिमालय एयरलाइन्सले काठमाडौं-छिङ्डाओ उडान गर्ने
हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान सुरु गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको उपस्थिति यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले चीनको छिङ्डाओमा सीधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरेका छन । उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमिका भएको नाताले महत्वपूर्ण रहेको बताएका छन । चीनका विभिन्न सहरबाट पोखराको सहरमा उडान गर्न चिनियाँ राजदूतसँग आग्रह गरे । मन्त्री किराँतीले काठमाडौं–पोखरा–चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने जनाएका छन ।
सिमेन्ट निर्यातमा उछाल
सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र विद्युत् महुसलमा समेत छुट दिने घोषणा गरेपछि नेपालबाट सिमेन्ट निर्यात बढ्न थालेको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २३ करोड ५० लाखबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । जबकि, गत आर्थिक वर्षभरिमा करिब ७८ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । सिमेन्ट निर्यात सुरु भएको गत वर्षको पहिलो महिना साउनमा ४९ लाखको सिमेन्ट निर्यात भएको थियो । २४ असार ०७९ मा पाल्पा सिमेन्टले पहिलोपटक ‘तानसेन’ ब्रान्डको सिमेन्ट निर्यात गरेको थियो । त्यसयता अर्घाखाँची, बालाजी र सिजी सिमेन्ट उद्योगले निर्यात गरिसकेका छन् ।
चार वर्षमा डलर कार्डबाट बाहिरियो दुई अर्ब
गएका चार वर्षमा डलर कार्डमार्फत नेपालबाट झण्डै २ अर्ब रुपैयाँ बाहिरिएको पाइएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापतको अनलाइन भुक्तानीका लागि २०७७ चैतदेखि गत असारसम्म डलर कार्डबाट मात्र १ करोड ३९ लाख ६५ हजार अमेरिकी डलर मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जानकारी दिएको हो । पछिल्ला महिनामा कार्ड जारी, कार्डमा रकम लोड गर्ने लगायतका खर्च सबै उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको भनाइ छ ।
सशस्त्र प्रहरीको फ्यूल सेन्टरमा विद्युतीय चार्जिङ स्टेशन स्थापना
सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आइतबार २ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन । सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । चार्जिङ स्टेसनमा १ सय ४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठूला बससहित ६ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।