
- सुजन चालिसे
काठमाडौँ । गतवर्ष असार ७ गते निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षमा उल्लेख्य उपलब्धी हासिल गरेको छ । गत निर्वाचन र बैशाख १० को उपनिर्वाचनबाट संसदमा रास्वपाको २१ सीटको उपस्थिति छ । गत निर्वाचनमा समानुपातिकबाट प्राप्त ११ लाख मतलाई अर्को निर्वाचनमा बढोत्तरी गर्ने र बहुमत प्राप्त गर्ने अभियान रास्वपाले सुरु गरिसकेको छ । कस्तो छ रास्वपाको एक वर्षे समीक्षा ?
घण्टी चुनाव चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना भएको असार ७ गते एक वर्ष पुग्दैछ । संघीय निर्वाचन र गत बैशाखमा भएको उपनिर्वाचनबाट रास्वपाले २१ सीटको आकार लिएको छ । यो एक वर्षमा हासिल गरेको उपलब्धीबाट पार्टीपंक्ति निक्कै उत्साहित छ । गत निर्वाचनमा समानुपातिकतर्फ ११ लाख मत कटाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उक्त मतको रक्षा गर्दै आगामी निर्वाचनमा पहिलो दल बन्ने सम्भावना र चुनौती दुबै छ । जसका लागि रास्वपाले आक्रामक रुपमा संगठन विस्तार सुरु गरिसकेको छ ।
स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ जिल्लामा संगठन विस्तार गरेको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुममा मात्र संगठन विस्तार हुन बाँकी छ । रास्वपाले प्रवासमा पनि संगठन विस्तार गरिरहेको छ । उसले अनलाइन र अफलाइन दुवै माध्यमबाट सदस्यता खुला गरेको छ । अब हुने आम निर्वाचनलाई लक्षित गरी रास्वपाले मिसन २०८४ अभियान चलाएर सदस्यता विस्तार, संगठन निर्माण र प्रशिक्षणमा ध्यान दिने जनाएको छ । असार ७ गते पार्टी स्थापना दिवस मनाउन लागेको रास्वपाका सभापति रवि लामिछानेले ७ गते साँझ ७ बजे सातै प्रदेशका ७७ वटै जिल्लामा ७७ पटक घन्टी बजाउन आग्रह गरेका छन् ।
यो एक वर्षे समिक्षामा रास्वपाको नेतृत्वदेखि समर्थक पंक्तिको उत्साह गणना नै गर्न नसकिने छ । तर यदाकदा पार्टीभित्र आन्तरिक असन्तुष्टी र विभाजनको घण्टी भने बजिरहेको छ । यसलाई मत्थर पार्दै आगामी निर्वाचनमा बलियो बन्न पार्टी पंक्तीले सामुहिक निर्णय प्रक्रिया मार्फत सबै पक्षलाई सन्तुष्ट बनाएर जानुपर्ने देखिन्छ । अबको ४ बर्ष बिचलित नभई अगाडि बढ्न सकेमा रास्वपाले आफ्नो आकारमा उल्लेख्य वृद्धि गर्न सक्ने देखिएको छ ।