
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले एक सय दिनको अवसरमा घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फस्दै गइरहेका छन् ।
नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ‘ब्लु बस’ र एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन गरेपछि आलोचित बनेका सभापति लामिछाने अहिले फेरि अर्को झमेलामा फसेका छन् । र, नयाँ झमेला पैदा गर्ने मामला हो– रास्वपाका नेता, कार्यकता नारायणगढ–मुग्लिन सडकखण्डमा जाम हटाउन भन्दै अनुमति बिना नै वाकिटकीसहित खटिएको ।
सभापति लामिछाने एक सय दिनको अवसरमा ¥यापिड एक्सन टिमको समेत घोषणा गरेका थिए । त्यही ¥यापिड एक्सन टिम बुधबार नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर झरिरहने पहिरोका कारण हुने जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आरएटी लेखेर वाकिटकीसहित खटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्ती नै निकालेर रास्वपाका नेता, कार्यकर्ताको यस्तो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै ती कार्यहरु रोक्न निर्देशन नै दियो ।
ठूला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाजलगायत सर्वसाधारण नागरिकबाट कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको जानकारी गराउदैँ रास्वपाको गतिविधि रोक्न चितवन प्रशासनले निर्देशन दिएको हो ।
सडकमा काम गर्न राज्यद्धारा स्वीकृत प्राप्त ट्राफिक प्रहरी, सडक विभागअन्तर्गतका कर्मचारी सक्षम हुँदा हुँदै समन्वय गर्नुपर्नेमा उल्टै राज्यका संयन्त्रलाई कमजोर बनाउने काम भएको ठहर प्रशासनको छ ।
रास्वपा बागमती प्रदेश संयोजक विजय गुप्ता नेतृत्वमा ५० जनाको टोली वाकिटकी र विशेष पोशाकसहित परिचालित भएको थियो । तर, उनीहरुले पहिरोमा फसेका सवारी साधनलाई कटाउन भन्दै खटिँदा प्रयोग गरेको सञ्चार साधन वाकिटकी प्रशासनको अनुमति नलिएरै प्रयोग गरेको खुलेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रास्वपाका कार्यकर्ताले सञ्चारका लागि प्रयोग गरेको वाकिटकी स्वीकृति लिइएको तथा दर्तावाला भए नभएको छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
सीडीयोको निर्देशन स्वभाविक कि अस्वभाविक ?
प्रमुख जिल्ला अधिकारी पाण्डेले विपद्मा सहयोगका लागि खटिएको रास्वपाको टिमलाई लगाएको रोक र दिएको निर्देशन अस्वभाविक भएको टिप्पणी पनि हुन थालेको छ । विपद्का बेला खटिएर सेवा गर्छु भन्दा उल्टै चितवन प्रशासनले रोक लगाउनुको औचित्य पुष्टी हुन नसक्ने आवाज कांग्रेसका नेताहरुले पनि उठाएका छन् ।
त्यसै पनि स्थानीय प्रशासनले विपद्मा सहयोग गर्नेहरुलाई रोक लगाउनेसम्मको निर्देशन दिएको विरैलै सुनिन्छ । तर रास्वपालाई रोक लगाउनुमा कतै चितवनको राजनीतिक फ्याक्टरले काम ग¥यो कि भन्ने शंका पनि उब्जिएको छ ।
वाकिटकी चलाउन लाइसेन्स लिनुपर्ने, यस्तो छ नियमावली !
वाकिटकीको चलाउने संचार तथा सुचना विभागबाट लाइसेन्स लिनुपर्ने हुन्छ । रेडियो संचार लाइसेन्स नियमावली, २०४९ मा तोकिएको प्रावधान पुरा गरेर मात्रै वाकिटकीको चलाउने लाइसेन्स प्राप्त गर्न सकिन्छ । वाकिटकी विना अनुमति चलाउन मात्रै होइन आयात समेत गर्न नपाइने प्रावधान छ ।
दलीय क्रियाशीलता देखाउने क्रममा विधि पद्धति ख्याल नगर्दा रास्वपा विवादमा तानिने क्रम रोकिएको छैन ।
नियमविपरित ब्लुबस र एम्बुलेन्सको रङ परिवर्तन गरेको प्रकरण सेलाउन नपाउँदै रास्वपाका कार्यकर्ता अहिले बिना स्वीकृति सञ्चार सेट प्रयोग गरेको विवादमा मुछिएका छन् ।