काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र आएको १५ वर्ष हुँदाका उपलब्धिहरुको समीक्षा हुनु जरुरी रहेको बताएका छन् । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै उनले घण्टी अराजकताको संकेत भएको बतए । आन्दोलनमा ठूलो भुमिका खेलका पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भुमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको समेत उनले बताए ।
‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ,’ उनले भने, ‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान् । कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन् । देशमा आउँदै गरेको अराजकताका । यो देशका जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन् । त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो । नयाँ भिजनका साथ दशेलाई अघि बढाउनुपर्छ ।’
पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए । उनले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उहाँले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए ।
उनले थप भने, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन ।’
पूर्वप्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने पनि बताए । उनले देशको सामाजिक संरचनामाथि कुनै पनि व्यवधानका कार्यहरु हुनेगरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्न नहुने बताए ।
फरक प्रसंगमा उहाँले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको समेत बताए ।




