रिभर्स रिपोमार्फत २० अर्ब झिक्दै राष्ट्र बैंक, बारुद खानाबाट खुल्यो बाटो (अर्थ रफ्तार)

रिभर्स रिपोमार्फत २० अर्ब झिक्दै राष्ट्र बैंक, बारुद खानाबाट खुल्यो बाटो (अर्थ रफ्तार)

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले फेरि बजारबाट २० अर्ब रुपैयाँ झिक्ने भएको छ ।

यही असारमा मात्रै राष्ट्र बैंकले तीन पटक रिभर्स रिपोमार्फत बजारबाट रुपैयाँ झिकिसकेको छ । राष्ट्र बैंकले साउन ९ गतेसम्मका लागि (१४ दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको जनाएको छ ।

२०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि असारमा मात्रै बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको हो । बैंकिङ प्रणालीमा हाल करिब ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ । खासगरी अन्तर बैंक ब्याजदर साढे ५ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । सोमबारसम्म अन्तर बैंक ब्याजदर १.०९ प्रतिशत छ ।

नेपालको स्याउको बजार छैन, अर्बौको स्याउ आयात

पछिल्ला वर्षमा नेपालले अर्बोको स्याउ आयात गर्दे आएको छ । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ६ अर्ब ६७ करोड ५२ लाख रुपैयाँको स्याउ आयात गरेको हो ।

जसबाट ७ करोड ९५ लाख ९० हजार केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । नेपालले अधिकांश स्याउ चीनबाट आयात गर्दै आएको छ ।

नेपालले यो अवधिमा ४ अर्ब ७३ करोड ७५ लाख रुपैयाँको स्याउ चीनबाट आयात गरेको छ । त्यस्तै, भारतबाट १ अर्ब ९३ करोड रुपैयाँकोे, स्विट्जरल्यान्डबाट २७ लाख रुपैयाँकोे र अमेरिकाबाट ५० लाख रुपैयाँको स्याउ आयात भएको छ ।

नेपालका हुम्ला लगायतका जिल्लामा स्याउले बजार नपाइरहँदा विदेशबाट अर्बौको स्याउ आयात हुँदै आएको छ ।

असार २९ देखि एकीकृत कारोवार शुरू गर्दै लक्ष्मी र सनराइज बैंक

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गरिने छ । एकीकृत कारोबार शुरू गर्न डाटा माइग्रेसन लगायतका प्रयोजनका लागि दुवै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा अवरूद्ध हुने जानकारी बैंकहरूले दिएका छन् ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सनराइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्ता पूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ ।

बीस वर्षपछि बारुद खानाबाट खुल्यो बाटो

नेपाली सेनाको स्वयम्भु बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडिने गरी सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।

हाल जर्मन क्वाटरको पूर्वतर्फको सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको हो ।

नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि काठमाडौं महानगरपालिकाका प्रमुख एवं आयोजनाको जग्गा व्यवस्थापन उपसमिति संयोजक बालेन शाहले स्थलगत निरीक्षण गरी प्रधानसेनापतिसँग छलफलसमेत गरेका थिए ।
काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्रको विष्णुमती नदीहुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।

१४ मेगावाटको घारखोलाबाट परीक्षण उत्पादन सुरु

अन्नपूर्ण गाउँपालिका–६ घारमा ०७४ चैतदेखि निर्माण थालिएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।

आयोजनाले मंगलबारदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत् गृहबाट सोही गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सबस्टेसनसम्मको ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण हुने उल्लेख गरेको छ ।

२ अर्ब ४१ करोड लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । ०७४ चैतबाट निर्माण सुरु भएको थियो ।

०७८ मा सक्ने लक्ष्य रहेको भए पनि कोरोना समेतका कारणले निर्माण समय २ वर्ष लम्बिएको पनि आयोजनाले बताएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *