भदौ १६
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक १९ वर्षीया किशोरीमाथि भएको बलात्कारको घटनाले सनसनी मच्चाएको छ। यो विभत्स घटना भदौ ५ गतेको हो, जहाँ पीडितलाई तालिमको नाममा फकाएर गाउँपालिकाका उद्यम विकास सहजकर्ता मुकेश चौधरीले भैरहवा लगेका थिए। पीडितको परिवारका अनुसार, तालिम बहानामा किशोरीलाई आवासीय तालिम भन्दै भैरहवा पुर्याइएको थियो। त्यहाँ मुकेश चौधरीसहित अन्य दुई व्यक्तिहरूले मिलेर उनलाई बलात्कार गरेका थिए। पीडितको अवस्था अत्यन्त नाजुक भएपछि मात्र यो घटना बाहिर आएको हो।
घटनापछि पीडितले ती तीन आरोपितको नाम खुलाएकी छिन्। पिडकहरूमा कोटहीमाई गाउँपालिकाका शिक्षा शाखामा कार्यरत ३२ वर्षीय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता २६ वर्षीय मुकेश चौधरी र वडा नं. ३ का अध्यक्ष विष्णु पाण्डेको छोरा ३५ वर्षीय बंटी पाण्डे रहेका छन्। स्थानीयहरूले पिडकहरूलाई पक्रेर कुटपिट गरेपछि प्रहरीलाई बुझाएका थिए।
तर, यो घटना राजनीतिक दबाबमा ढाकछोप गर्न खोजिएको आरोप लागेको छ। विभिन्न राजनीतिक नेताहरूले मुद्दा दर्ता हुन नदिन दबाब दिइरहेको स्थानीयहरूले बताएका छन्। यस विषयमा रुपन्देहीका युवाहरू, सामाजिक अभियन्ता र पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्दा दर्ता गर्न जोडदार माग गरिरहेका छन्।
प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको छ।