रेशम चौधरीको विषय अप्ठ्यारो छ तर प्रक्रिया पुर्‍याएर रिहा गर्नेछु : प्रधानमन्त्री दाहाल


पुस २६, २०७९कान्तिपुर संवाददाता
काठमाडौँ — टीकापुर घटनामा दोषी ठहर भइ कारागारमा रहेका रेशम चौधरी लगायतका व्यक्तिहरूलाई रिहा गर्ने बारे आफूले पहल गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
यद्यपि चौधरीको विषय जटिल र अप्ठ्यारो भएको उनको भनाइ थियो । ‘रेशम चौधरीको विषय अलि अप्ठ्यारो र जटिल छ । तर रेशम चौधरीसहित अन्य निर्दोषहरूलाई रिहाइ गर्ने कुरा विश्वास व्यक्त गर्छु,’ उनले भने ।
चौधरीको विषयमा यसअघि नागरकि उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले संसद्‍ बैठकमा प्रश्न उठाएकी थिइन् । संघीय संसद्‍मा ४ सिट रहेको उनको पार्टी नागरिक उन्मुक्ति पार्टीले पनि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिँदैछ ।
श्रेष्ठको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले चौधरीलाई आवश्यक प्रक्रिया पूरा गरी रिहाइ गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका हुन् ।
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनाका योजनाकार भन्दै रेशम चौधरीसहित विभिन्न व्यक्तिहरूलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो । हाल उनी डिल्लीबजारस्थित कारागारमा रहँदै आएका छन् ।
मंगलबार संसद्‍मा विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै दाहालले कतिपय सांसदहरूले पूरा गर्न असम्भव जिज्ञासा उठाएको पनि बताएका थिए । यसवाहेक प्रधानमन्त्री दाहालले शपथग्रहणको अवसरमा दौरा सुरुवाल र कोट लगाएको विषयमा पनि प्रतिक्रिया दिएका थिए ।
उनले आफू दौरा सुरुवालविरोधी कहिल्यै नभएको प्रष्ट पारेका थिए । अन्य कपडा लगाउन सहज भएको भन्दै अन्य मन्त्रीहरूलाई पनि पहिरनमा अनिवार्य नगरेको उनको भनाइ थियो ।

1 thought on “रेशम चौधरीको विषय अप्ठ्यारो छ तर प्रक्रिया पुर्‍याएर रिहा गर्नेछु : प्रधानमन्त्री दाहाल”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top