रेशम चौधरी आफ्नै पार्टी विधान विपरित हिडेपछि..

रेशम चौधरी आफ्नै पार्टी विधान विपरित हिडेपछि..

काठमाडौं । रेशमलाल चौधरी टीकापुर घटनापछि नेपालको राजनीतिमा छाइरहेको नाम हो । कलाकारिता समेत जानेका रेशमले कारागारबाटै जन्माएको पार्टी हो, नागरिक उन्मुक्ति ।

यस पार्टी भित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । रेशमले राजनीतिमा कलाकारिता धेरै देखाउन खोज्दा कतै बाटो विराउने त होइनन् ? आशंका व्याप्त छ । अझं, आफूलाई ६ महिने मन्त्रीको रुपमा अघि सारेपछि यो विषय थप रोचक बन्ने देखिन्छ ।

कलाकारिता, खेल, लेखन रेशमका रुचीका विषयमा पर्छन् । टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भएपछि कारागार जीवन विताएर राष्ट्रपतिबाट सजाय आम माफी पाएर निस्किएका रेशम पार्टी संगठन विस्तारको क्रममा देश दौडाहमा छन् ।

पार्टी अध्यक्ष रहेकी पत्नी रञ्जिता श्रेष्ठ संघीय सरकारमा मन्त्री भएकाले पनि रेशमले पार्टीका गतिविधि अघि बढाइरहेका छन् । यहि क्रममा रेशमले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले रञ्जितालाई विश्राम दिलाएर ६ महिने मन्त्री बन्न प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको खुलासा गरेका छन् ।

रेशम मधेसी र थारुको अधिकारका लागि आफूले लामो समय संघर्ष गरेको ठोकुवा गरिरहेका छन् । तर, जेलबाटै बनाएको पार्टीको विधान भने आफैले पालना गर्न चुकिरहेका देखिन्छन् ।

पार्टी उद्देश्यलाई पालना गर्नु र त्यहि अनुसारको काम गर्नु सबै सदस्यको दायित्व हो । तर, रेशमले भने त्यसको ठीक उल्टो अभिव्यक्ति दिदै हिडेका पाइन्छन् ।

नागरिक उन्मुक्तिको पार्टी विधानमा पार्टी उद्देश्यको अन्तिम बुँदामा धार्मिक सहिष्णुतासहितको धर्म निरपेक्षता अंगिकार गर्ने उल्लेख छ ।

यसको अर्थ उनी धर्म निरपेक्षताको लागि प्रतिबद्ध छन् भन्ने नै हो । तर, उनी आफै विधान विपरित बोलिरहेका छन् ।

पछिल्ला केही दिन यता अन्तरवार्ता कार्यक्रममा रेशमले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको र त्यसलाई फर्काउनुपर्ने बताउन थालेका छन् । हिन्दुको बाहुल्यता रहेको जिकिर गर्ने रेशमले पार्टी विधानको पालना गरे वा गरेनन् ? यहि विषयले प्रष्ट पारेको छ ।

यता, पार्टी अध्यक्षमा पत्नी भएर हो वा आफैले जेलबाट निर्माण गरेको पार्टी भएर हो, रेशम आफुलाई मात्रै चर्चामा राख्न सक्रिय देखिन्छन् ।

पार्टी गतिविधिमा सामान्यतया अध्यक्ष नै सहभागी हुने वा त्यस्तो हुन नसकेमा महासचिव लगायत जिम्मेवार पदाधिकारीले नै समस्या समाधानदेखि संगठन निर्माणको काममा लाग्ने प्रचलन हुन्छ । तर, जेलबाट रिहा भएको लामो समयसम्म रेशमले पार्टीमा कुनै पदीय जिम्मेवारी नलिएरै किन यसरी सक्रियता देखाइरहेका छन् ? यो पनि आम चासोको विषय बन्न पुगेको छ । रेशमले मधेसदेखि विभिन्न जिल्लामा राजनीतिक भ्रमण गरिसकेका छन् ।

उनले त्यसरी भ्रमण गर्ने विषय सामान्य भएपनि पार्टी विधानले नै नचिनेका रेशमले किन र कुन आधारमा सक्रियता देखाइरहेका छन् ? त्यो भने उनकै पार्टीका नेताहरुले प्रश्न गर्न थालेका छन् ।

अझं, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयले विवाद लिदा नाउपाका विभिन्न आन्तरिक असन्तुष्टि सार्वजनिक हुन थालेका छन् ।

जसलाई रेशम आफैले पनि आफ्नो र नाउपाको राजनीति माथि आउन नदिन समूदायभित्रकै मान्छेहरु लागेको आरोप लगाउन थालेका छन् । सरकारमा जाने विषयबारे बोलेका रेशमलाई प्रचण्डले मन्त्रीको अफर गरेकै हुन त ?

पार्टी विधान नमानेको आरोप खेपेका रेशमलाई प्रचण्डले रिहा गर्दा लिएको जोखिम देख्दा पनि मन्त्री बनाउने प्रयास गरे होलान् ? यस्ता तमाम प्रश्न सतहमा छन् । जसको जवाफ समयक्रमसँगै खुल्दै जाने देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *