लम्पी स्किनबाट चौपाया मर्दा लुम्बिनीका किसानको साढे १२ करोडको क्षति

लम्पी स्किनबाट चौपाया मर्दा लुम्बिनीका किसानको साढे १२ करोडको क्षति

  • प्रकाश न्यौपाने

भैरहवा । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगले भयाबह रुप लिएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा किसानले पालेका सयौ चौपाया मरेका छन् । नियन्त्रणका लागि खोप लगाउने अभियान भइरहेको छ । यद्यपी रोग नियन्त्रणमा आउन नसक्दा पशुचौपाया मर्नेक्रम रोकिएको छैन ।

लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार हालसम्म यस रोगका कारण प्रदेशमा साढे पाँच हजार चौपाया मरेका छन् । निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा गरेर ५ हजार ६ सय ४६ पशुको मरेको तथ्यांक छ ।

लुम्बिनी प्रदेशमा चार वर्ष अघि लम्पी स्किन रोग देखा परेको थियो । तर, रोग नियन्त्रणमा सरकारी उदासिनता र तदारुकता नहुँदा चौपाया धेरै मरेको किसानको गुनासो छ । निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा चौपायामा रोगको संक्रमण फेला परेको थियो ।

त्यसयता प्रदेशका विभिन्न जिल्लाहरुमा गरी १ लाख ८१ हजार ९३५ पशु यो रोगको संक्रमणमा परेका छन् । निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण किसानले करोडौंको क्षति व्यहोर्नु परेको जनाए । ‘रोग नियन्त्रणका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौं’, उनले भने, ‘धेरै ठाउँमा खोप कार्यक्रम पनि सुरु भइसकेको छ । खोप पाएपछि धेरै चौपाया निको पनि भएका छन् ।’

निर्देशनालयका अनुसार अहिलेसम्म चौपायामा देखिएको उक्त लम्पी स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको क्षति भइसकेको छ । यो क्षति अझै बढ्न सक्ने किसानले चिन्ता व्यक्त गरेका छन् । तर, निर्देशनालयले भने खोप कार्यक्रम सुरु भइसकेकाले अब क्षति न्युनीकरण हुँदै जाने दावी गरेको छ ।

हाल प्रदेशमा प्रदेश स्तरीय लम्पी रोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको आलमले बताए । प्रदेशमा अहिले ३० लाख बढीको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले बताएको छ । तर, त्यो त्यती प्रभावकारी नदेखिएको किसानको गुनासो छ ।

हालसम्म ३८ हजार ७९३ खोप तथा १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको र त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको जनाइएको छ । स्थानीय तहबाट पनि लम्पी स्किन रोगको खोप लगाउने कार्य भइरहेको छ । यो रोगबाट प्रदेशमा २३ हजार ९२७ पशु निको भएको छन् ।

लम्पी स्किन रोग लागेका पशुबाट ५० प्रतिशतसम्म दूध उत्पादनमा कमी हुने निर्देशनालयले जनाएको छ । जसले गर्दा अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भइरहेको छ । किसानले लाखौं खर्चेर पालिरहेका चौपाया रोगका कारण धमाधम मर्दा चिन्तित छन् । रोगले चौपायामा खटिरा आउने, सुन्निे गराउँछ । जसले गर्दा चौपाया थला परी मर्ने गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *