लाखबत्ती बालेर प्रार्थना गर्दै मिस नेवाःको आरम्भ

लाखबत्ती बालेर प्रार्थना गर्दै मिस नेवाःको आरम्भ

लाख बत्ती बालेर पूजाआजा गरी विश्वशान्ति र सुख समृद्धिको कामना गर्दै १७औं संस्करणको मिस नेवाः नेपाल आरम्भ गरिएको छ।

नेप्लिज फेसनहोमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीहरूबीचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीहरूले राजधानीको इन्द्रचोकस्थित आकाश भैरवमा लाख बत्ती बालेर पूजाआजा गरी विश्वशान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ गरिएको हो।

यस वर्षको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट १७ नेवार युवतीले सहभगिता जनाएका छन्। आयोजक संस्था नेप्लिज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि उक्त प्रतियोगिता आयोजना गरिँदै आएको बताइन्। नेवार भाषा, कला, संस्कृति र संस्कारको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको मानन्धरको भनाइ छ। प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन्।

नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भका अवसरमा मिस नेवाः नेपाल र मिस लिटील नेवाःका विजयी तथा प्रतियोगीले पब्लिक केयर सेन्टर पिस नेपाल, महालक्ष्मीस्थान र विवेक स्वच्छ सेवा केन्द्र, अनामनगरमा खाद्यान्न तथा शैक्षिक सामाग्री पनि प्रदान गरेका छन्। मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। आगामी साउनमा हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा मिस नेवाःकृषा महर्जनको सयोजनमा सम्पन्न हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *