सुरेन्द्र यादव, कात्तिक १४ –
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२, कृष्णनगर बसपार्क क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले तीनजनालाई पक्राउ गरेको छ। ३२ वर्षीय लवकुश भुजलाई शंका लागी खानतलासी गर्दा निजको साथ र घरको कोठाबाट गरी जम्मा १५१.२१० ग्राम खैरो रंगको गिलो पदार्थ (ब्राउन सुगर) फेला परेको प्रहरीको भनाइ छ। सोही कोठामा राखिएको लागुऔषध तौल गर्न प्रयोग गरिने ४ थान तराजु र २ थान मोबाइल पनि बरामद गरिएको छ।
थप अनुसन्धानका क्रममा, लागू औषध खरिद गर्न आएका अन्य दुई व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ती व्यक्ति कपिलवस्तुका निम्न अनुसार रहेको प्रहरीले बताएका छन
१) महेश थारु (२८ वर्ष), बुद्धभुमी नगरपालिका–२ निवासी, उनको साथबाट रु ९०,००० नगद र १ थान मोबाइल बरामद गरिएको छ।
२) विपुल थारु (२४ वर्ष), बाणगंगा नगरपालिका–१ निवासी, उनको साथबाट १ थान मोबाइल बरामद भएको छ। प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।