लिइयो माधव-बाबुरामको बयान, प्रचण्डसँग देउवा बने गरम

लिइयो माधव-बाबुरामको बयान, प्रचण्डसँग देउवा बने गरम

ललिता निवासः प्रहरीले बुझायो अनुसन्धान फाइल

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा अनुसन्धान फाइल सोमबार सरकारी वकिलको कार्यालयमा बुझाएको छ । तीन पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाएको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो । तर त्यसबेला यी सबैजना धरौटी बुझाएर रिहा भइसकेका छन् । पूर्वमन्त्रीहरुलाई अहिले फरार सूचीमा राखिएको भएपनि एकजना पूर्वमन्त्री चन्द्रदेव जोशी भने सीआईबीको कार्यालयमै बयान दिन पुगेका थिए । तर प्रहरीले उनलाई फर्काएको आरोप लागेको छ । प्रहरीले फरार दाबी गरेका जोशी छोरा अरुणदेवसहित प्रहरी कार्यालयमा पुगेपनि भोलि वा अर्को दिन बोलाउने भनेर फर्काइएको बताइएको छ । तर, प्रतिवेदनमा उनलाई फरार सूचीमा राखेको छ ।

सीआईबीले लियो माधव-बाबुरामको बयान

ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाहुराम भट्टराईको निवासमै पुगेर बयान लिएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाइएको विषयमा सर्वोच्चको आदेशपछि सीआईबीले बयान लिएको हो । यसअघि दुबै नेताहरुमाथि बयान नै नलिई अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको थियो । तर, यसको चौतर्फी आलोचना हुन थालेपछि भने सीआईबीले निवासमै पुगेर बयान लिएको हो ।

सीआईबीलाई बयान दिएपछि के भने बाबुरामले ?

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई बयान दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कर्तव्य निर्वाह गरेको जिकिर गरेका छन् । सोमबार आफ्नै निवासमा बोलाएर भट्टराईले सीआईबीलाई बयान दिएको बताइएको छ । बयानको क्रममा भट्टराईले सीआईबीसँग के भने भन्ने विषय बाहिर नआएपनि उनले आफ्नो मन्त्रिपरिषद्को निर्णयमा उठेका प्रश्नको सत्यतथ्य जानकारी गराएको बताएका छन् । उनले ललिता निवास प्रकरणदेखि सबैखाले भ्रष्टाचार, अनियमितताको अन्त्यको कामना समेत गरेका छन् ।

प्रचण्ड–नारायणकाजीविरुद्ध गरम देउवा, माधवसँग नरम

सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालप्रति लचक हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति खनिएका छन् । ललिता निवासदेखि नक्कली शरणार्थी प्रकरण हुँदै सुन प्रकरणसम्म आइपुग्दा देउवाले सरकारको नियतमाथि आशंका गर्दै बैठकमै कड्किएको खुलासा भएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई प्रहरीले टर्चर दिएकोदेखि विभिन्न विषय उठाएका देउवाले कृष्णबहादुर महरामाथि किन छानबिन भएन भन्दै प्रश्न समेत उठाएका छन् । योभन्दा पहिले आफू प्रधानमन्त्री बन्नमा माधव नेपालको ठूलो गुण रहेको समेत उनको धारणा थियो ।

‘प्रदीप गिरी वीपीपछिकै ठूलो समाजवादी चिन्तक’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरी बिपी कोइरालापछिकै ठूलो समाजवादी चिन्तक रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले गिरी ठूलो समाजवादी चिन्तक रहेको उल्लेख गर्दै उनका कृतिहरु भएमा प्रकाशन गर्नुपर्नेमा जोड दिए । यस्तै, महामन्त्री गगन थापाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न सकिए समाजको द्वन्द्धलाई कम गर्न सकिने बताएका छन् । कोशी प्रदेशका विभिन्न कार्यक्रमबाट फर्किएका गगनले गिरीले पहिचानको कुरा गरेको विषय समेत स्मरण गरे ।

उपसभामुख र प्रतिपक्षी भागे पनि थापाले लिए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । केहिबेरको अलमलपछि सत्ता गठबन्धनको बैठकले उपसभामुख सिर्जना दनुवार बैठक अलपत्र पारेर काठमाडौ पुगेपछि दनुवारले तोकेकै कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठक चलाइन् । बैठक सञ्चालन गरेकी मन्सुरीले समेत मतदान गरेपछि थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । एमाले र राप्रपाले आफ्ना पार्टीका सबै जेष्ठ सदस्यलाई बिदामा बसाएपनि गठबन्धनले उपसभामुखले संसदीय मान्यताविपरित काम गरेको ठहर गर्दै नयाँ रणनीति अख्तियार गरेर विश्वासको मत लिएको हो । यसरी विश्वासको मत लिएपछि फेरि प्रतिपक्षी दलहरु अदालत जाने धम्की दिन थालेका छन् ।

आफैले डाकेको बैठक लथालिङ्ग

कोशी प्रदेशमा उपसभामुख सिर्जना दनुवार आफैले डाकेको प्रदेशसभा बैठकलाई छोडेर सुटुक्क काठमाडौं छिरेकी छन् । कोशीमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भन्दै सोमबारका लागि उनले समय तोकेकी थिइन् । आइतबार ३ गतेसम्म आफू प्रदेशसभा बैठक चलाउने स्थितिमै रहेको बताएकी दनुवार सोमबार बिहान एकाएक काठमाडौं आएकी हुन् । उनी आफैले सोमबारका लागि विश्वासको मत लिने समय तोकेकी थिइन् । तर, अन्तिममा उनी एमालेको रणनीति अनुसार काठमाडौं आएपछि उनले राजनीतिक नैतिकता नदेखाएको आरोप लाग्न थालेको छ ।

घरायसी कामको बिदा तर एनजिओको कार्यक्रममा व्यस्त

घरायसी काम भन्दै प्रदेशसभा बैठकमा आउन नसक्ने जानकारी गराएका एमालेका सांसद खड्गबहादुर बस्नेत एनजिओको कार्यक्रममा व्यस्त रहेको भेटिएका छन् । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यक्रम तय भएसँगै उपसभामुख काठमाडौं आएपछि ज्येष्ठ सदस्यको हैसियतमा उनले बैठक सञ्चालन गर्नुपर्ने अवस्था थियो । त्यसैले उनी घरायसी काम भनि कारण देखाउँदै विदा बसेका थिए । तर, उनी एनजिओको कार्यक्रममा पुरा समय व्यतित गरेर फर्किएको पाइएपछि उनीको चर्को आलोचना भएको छ । सोमबारको बैठकमा एमालेका सात जना ज्येष्ठ सदस्य र राप्रपाका सबै सांसदले अनुपस्थित हुने जानकारी गराएका थिए ।

विश्वम्भर बने प्रधानन्यायाधीश

संसदीय सुनुवाई समितिको बैठकले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । श्रेष्ठविरुद्ध सुनुवाई समितिमा तीनवटा मात्रै उजुरी परेका थिए । सुनुवाई समितिले अदालतमा विचौलिया नियन्त्रण, मुद्दाको अन्तिम किनारा लगाउने योजना लगायत विषयमा प्रश्न गरेका थिए । जसमा श्रेष्ठले अदालतमा अनावश्यक भीड नियन्त्रणमा कायमुकायम भएर आएदेखि नै काम थालिसकेको बताएका छन् । ०००

समाजवादी मोर्चाबारे विप्लवको यस्तो खुलासा

अनेक संशयका बीच बसेको समाजवादी मोर्चाको बैठकले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यक्रम गर्ने घोषणा गरेको छ । सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने मिति नै सार्वजनिक गरेको हो । समाजवादी मोर्चाको बैठकपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले सरकारले चालेको भ्रष्टाचारविरोधी कदमलाई समर्थन गर्ने निर्णय गर्दै सबैखाले आशंका चिरिएको बताएका छन् । तरंगित वातावरणमा घोषणा भएको मोर्चाबारे विभिन्न टिप्पणी भएपनि यो सफलतापूर्वक अघि बढ्ने विप्लवको भनाई छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *