पोखरा । लिटिल स्टेपमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण भएको छ । कार्यक्रममा प्लस टुमा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयमा भर्ना भएका विद्यार्थीसहित तिनका अभिभावकलाई खादा तथा अबिर लगाएर स्वागत गरिएको थियो ।
प्रमुख अतिथि कमलबहादुर गुरुङले चार दशकको लामो संघर्षपूर्ण यात्राबाट यस क्षेत्रको शैक्षिक धरोहरको रुपमा लिटिल स्टेप स्थापित भएकामा विद्यालय परिवारलाई बधाई दिए ।
विद्यालयका संस्थापक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममाविद्यालयका संस्थापक प्राचार्य श्रीमती पम्फा गुरुङले स्वागत मन्तव्य व्यक्त गरिन् । विद्यालय को–अर्डिनेटर विनोद गिरीले विषय शिक्षकहरुको परिचय गराउँदै विद्यालयको पोसाक, समय तालिका तथा विद्यार्थीहरुले पालना गर्नुपर्ने आचरणबारे प्रकाश पारे । विद्यालयमा सञ्चालित सबै कार्यक्रममा अध्यापन गराइने विषयबारे समेत उनले प्रस्ट पारे ।
विद्यालयका संस्थापक शेरबहादुर गुरुङले शैक्षिक उन्नयनको अविश्रान्त यात्रामा साथ र सहयोग प्रदान गर्ने अभिभावक, विद्यार्थी, शिक्षक एवं कर्मचारी सबैलाई धन्यवाद दिए । समाज र देशको माग र आवश्यकतालाई मध्यनजर गरी नर्सरीबाट प्रारम्भ गरेको शैक्षिक यात्रा विद्यालय, प्लस टु, स्नातक तथा स्नातकोत्तरसम्म पुगेको छ ।
प्लस टुमा अध्यापनरत शिक्षकद्वय गंगाराम पौडेल र ध्रुव केसीले सिकाइलाई थप प्रविधिमैत्री बनाउँदै लैजान आफूहरु प्रतिवद्ध भएको धारणा राखे । कार्यक्रममा विद्यार्थीहरुको स्वागतमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । कार्यक्रम सञ्चालन प्लस २ का विद्यार्थीद्वय क्रिस्टिना पुन र कृष्मा छन्त्यालले गरेका थिए ।