‘लिपुलेक–कालापानी साट्ने प्रस्ताव गरेको छैन, बरू नेपालकै हो भन्ने स्थापित गराएँ’ – प्रचण्ड

‘लिपुलेक–कालापानी साट्ने प्रस्ताव गरेको छैन, बरू नेपालकै हो भन्ने स्थापित गराएँ’ – प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको प्रष्ट पारेका छन् ।

एमालेसहितका विपक्षी दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद बैठक अवरुद्ध पारेर प्रधानमन्त्रीको जवाफ मागेका थिए । संसदमा आज जवाफ दिँदै प्रधानमन्त्रीले पहिलोपटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दाबी गरे ।

भारतको चार दिने औंपचारिक भ्रमणबारे संसदमा जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री दाहालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नैपर्ने कुरा प्रष्टसँग राखेको र त्यो समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीले पनि पहिलोपटक संयुक्त प्रेसमिटमा स्पष्टसँग राखेको बताए । उनले आफूले सिधा र प्रष्ट ढंगले राखेको सो कुरालाई जनतामा भ्रम फैल्याउने गरी प्रचार गरेकोमा पीडाबोध भएको पनि बताए ।

‘अहिले प्रतिपक्ष दलको तर्फबाट माननीय सदस्यले र हिजो पनि उठेका कुराहरुको बारेमा मैले स्पष्ट पार्नुपर्ने आवश्यक्ता महशुस गरेको छु,’ उनले भने, ‘मुख्यकुरा सीमा सम्बन्धि विषयमा । कालापानी, लिपुलेक, लिम्पियाधुरासँग सम्बन्धित विषय र सीमामा जहाँजहाँ समस्या छन । ती सम्बन्धि विषयमा । म यो सम्माननित सदनलाई पूरै गम्भिरताका साथ, पूरै जिम्मेवारीका साथ भन्न चाहन्छु–मैले बडो प्रष्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ । जबसम्म सीमा सम्बन्धि यो समस्याको स्थायी र दीर्घकालीन समाधान गरिदैन, नेपाल–भारतसम्बन्ध सहज हुन सक्दैन भनेर बडो प्रष्टसँग अन्य नेताहरुको अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत प्रष्टसँग राखेँ । मलाई लाग्छ–यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाईमा यो पहिलो पटक नै हो । र, भारतको प्रधानमन्त्रीको हैसियतले सीमा समस्या हल गरिन्छ । र, नेपाल–भारतसम्बन्ध हिमालको उचाईमा पु¥याईन्छ भनेर भारतीय प्रधानमन्त्रीबाट बोलिएको पनि यो पहिलोपटक नै हो । यसमा हामी सबै नेपालीहरु, जसले स्थायी स्पमा सीमा समस्या समाधान होस् भन्ने चाहेका छौं । हामी सबैले गर्व गर्नुपर्छ ।’

आफूले बोल्नु भन्दा अगाडि नै भारतीय प्रधानमन्त्रीले सीमा समस्या पनि अब हल गरिन्छ भनेर भनेको कुरा प्रम प्रचण्डले स्पष्ट पारे । ‘हिमालयको उचाईमा दुई देशको सम्बन्ध पु¥याईन्छ । २०१४ मा यसै मञ्चबाट हाम्रो सम्मानित सदनलाई उहाँले गरेको सम्बोधन स्मरण गर्दै अव हाम्रो सम्बन्धमा सुपरहिट हो भनेर भन्नु भएको पनि यो पहिलो पटक हो । यसमा हामी खुशी हुने, खुशी मनाउने कि दुःख मनाउने ?’ उनले भने, ‘मलाई लाग्छ–यो हामी सबै नेपालीका लागि, सबै राजनीतिक दलको लागि, नागरिक समाज, बुद्धिजीवि सबैको लागि पनि खुशीको कुरा हो कि भारत सरकार र भारत सरकारका शक्तिशाली प्रधानमन्त्रीले सीमालगायतका समस्या हल गरिन्छ भनेर घोषणा गरेको मलाई लाग्छ यो हामी सबैले खुशी मान्ने कुरा हो ।’

सीमाबारे कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर भारतसामु कुनै प्रस्ताज नराखेको पनि उनले बताए । प्रधानमन्त्रीले भने, ‘कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौं– कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरा सबभन्दा ठूलो कुरा हो भन्ने कुरामा म प्रष्ट छु । र, मैले त्यही अनुसार आफ्नो भूमिका खेलेको छु । माननीय सदस्यहरुले तथ्य र तर्कलाई सहज र सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउन कोशिस नगरौं भन्ने मेरो अनुरोध छ । तुलनात्मक रुपमा यो पटकको भारत भ्रमण सफल मात्रै भएन, परिणाममुखि पनि भयो । यो भ्रमण एकअर्कालाई घोचपेच गर्ने र एकअर्कालाई कमजोर देखाउने उद्देश्यद्वारा भन्दा कामकाजी विषयमा आर्थिक, ऊर्जा, पर्यटन, सीमा, ट्रेड ट्रान्जिट सम्बन्धि सन्धिजस्ता विषयमा बढि गयो ।’

भारत, नेपाल र बंगलादेशको बीचमा त्रिपक्षीय साझेदारी गरेर नेपालको विद्युत सम्बन्धि काम अगाडि बढाउने भन्ने कुरा सामान्य नरहेको उनले बताए । तर भूमि नै बेच्यो कि, यताउति गर्यो कि भनेर अनावश्यक भ्रम र आरोपहरु लगाइरहेको देख्दा आफू असाध्यै चिन्तित र पीडित भएको उनले बताए । उनले भने, ‘मलाई के लागेको थियो भने यो पटकको मेरो भ्रमण चाँही अव के सत्तापक्ष, के प्रतिपक्ष, के नेपाली बुद्धिजीवि, के नागरिक समाज सबैले स्वागत गर्नेछन । र, मलाई बधाई दिनेछन भन्ने सोँच्दै आएको थिएँ । यहाँ त बडो विचित्रका तर्क, कुतर्क हुन थाले । मैले प्रष्ट पार्न चाहन्छु– ती कुरा प्रष्ट राखिएको छ । र, नेपालको भूमि नेपालको हो भनेर स्थापित गर्ने पहिलो कुरा हो । र, मैले कुनै पनि विकल्प कुरा गरेको छैन । माननीय सदस्यलाई प्रष्ट होस् । मैले बोलेका भिडियो छन, सबै प्रमाणहरु छँदैछन हामीसँग । मैले बोलेको कुरा के हो भने नेपालका केही विज्ञहरु, बुद्धिजीविहरु, विभिन्न रुपमा गरेका उनीहरुको अध्ययनको आधारमा उहाँहरुले भनेको कुरा यस्ता पनि छन भनेर मात्रै भनेको छु । मैले यो गर्नुपर्छ भनेकै छैन । मैले त नेपालको भूमि नेपालको हो भनेर पहिला स्थापित हुनुपर्छ भनेको मात्रै छु ।’

प्रधानमन्त्री प्रचण्डले एमाले निकट केही बुद्धिजीविहरुले नै बरु सीमा समस्या समाधानका लागि बंगलादेश मोडल उपयुक्त हुने भनेर प्रस्ताव गरेको कुरालाई नै आफूले स्मरण गराउने काम मात्रै गरेको जिकीर गरे । उनले आफ्नो भारत भ्रमणमा भएको उपलब्धिलाई केही होइन भन्ने ढंगले हल्ला गरियो भने प्राप्त हुने उपलब्धि पनि गुम्नेतर्फ विपक्ष दलहरुलाई सचेत गराए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *