लिपुलेक, लिम्पियाधुराबारे नीति तथा कार्यक्रममा केही नबोलेकाे भन्दै ओली गर्जिए

लिपुलेक, लिम्पियाधुराबारे नीति तथा कार्यक्रममा केही नबोलेकाे भन्दै ओली गर्जिए

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

आज आईतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको चर्को टिप्पणी गर्दै ओलीले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाईरहेको कुरा आइरहेको र त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे । उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरु समाधान गर्नुपर्ने सुझाव समेत दिए । वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकीर गर्दै ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन ? भनेर सरकारलाई प्रश्न समेत सोधे ।

‘सरकार परराष्ट्र सम्बन्ध संचालनमा हतास देखिएको छ । पियानो बजाउन दुवै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ । तर दश वटै औंलाले एकैपटक पियानो थिच्यो भने त्यसमा कर्कश ध्वनि मात्रै पैदा हुन्छ । त्यसले संगीत पैदा गर्दैन,’ उनले भने, ‘अहिले सरकारले दशवटै औंला एकै पटक थिचेजस्तो विभत्स आवाज मात्रै आएको छ । र, त्यसबाट छिमेकी मित्र राष्ट्रहरु र विदेशी समुदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको छ । विषय बुझ्दा ढिलो भईसकेको हुन सक्दछ । सरकारको यस नीतिले नेपालको प्रतिनिधित्व गर्न सक्दैन । यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको पनि देखिदैन ।’

प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको चुच्चे नक्शा अटाउन नसकेकोमा पनि उनले आपत्ति जनाए । ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमण जाँदै हुनुुहुन्छ । यस हिसावले म अलिक गम्भिर समस्या यसमा देख्छु । एउटा हामीले के बुझ्नु प¥यो भने परराष्ट्र सम्बन्धको विषयमा भने भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो । भारत छिमेकी हो । र, मित्र राष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरु खुलस्त गर्न किन नसक्ने ? खुलस्त कुरा नगरी समस्याहरु कसरी समाधान हुन्छ ? त्यसकारण खुलस्त कुरा गर्नु प¥यो । र, समस्या समाधान गर्नु प¥यो । चिसोपन राख्न भएन । कायर मन पनि राख्नु भएन । त्यो कातरपन, चिसो मन, भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यू राख्न नसक्ने अनि बोल्न नसक्ने । त्यो खालको हुनु भएन । मित्रसँग मित्रतापूर्ण ढंगले खुला कुरा गर्नु पर्यो ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ भन्द उनले सरकारलाई प्रश्न सोधे । ‘के छ त्यहाँ ? सीमा सुरक्षित नै छ ? अस्ति मैले एक ठाउँमा बोलेँ– हाम्रो भूगोल अलिकति खुम्चियो भनेर । एउटा मिडिया टेलिभिजनले त यतिसम्म भन्यो कि जे पायो त्यही बोलेर हिँडने केपी ओलीलाई किन जेल हालिदैन भनेर । देशको पक्षमा बोलेको हुनाले किन जेल हालिदैन भन्यो । चीनमा भए त फाँसी दिइन्थ्यो, गोली ठोकिन्थ्यो । यहाँ किन बोल्न दिइएको छ भन्यो । मैले देशको सवालमा बोल्दा यसो भनियो । देशको सीमाको बारेमा बोल्दा र यथार्थ कुरा बोल्दा । सरकार पनि त्यस्तै हो कि ? नीति, कार्यक्रममा सरकारले केही बोल्दैन । सभामुख महोदय, कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचारहरु सञ्चार माध्यामहरुमा आएका छन् । त्यो हो कि होइन ? यथार्थ के हो ? यस सम्मानित सदनलाई र यस सदनमार्फत् सम्पूर्ण नेपालीलाई यी राष्ट्रिय महत्वका सर्वाधिक चासो र प्राथमिकताका विषयमा जानकारी गराउन पर्छ कि पर्दैन ? अवश्य जानकारी गराउनु पर्छ । र, म जानकारी गराउन माग गर्दछु ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *