काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा छन् । भारत भ्रमणको एजेण्डाबारे प्रचण्डले परराष्ट्रविद्हरु छलफललाई पनि तीब्र बनाएका छन् ।
परराष्ट्रविद्हरुले भ्रमणका क्रममा इपीजी बैठकबारेमा धारणा राख्न सुझाएका छन् । यो पटकको भारत भ्रमणमा नयाँ रेकर्ड कायम गर्ने बताएका प्रचण्डले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि नै रहेको प्रष्ट्याएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको चर्चा पनि चुलिएको छ ।
आफू प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतबाट नै गर्ने प्रधानमन्त्रीले बताएका थिए । सोही प्रतिवद्धताअनुसार बोआओ सम्मेलन लगायतका कार्यक्रम छाडेर प्रधानमन्त्रीले विदेश यात्रा रोके ।
नेपालका जुनसुकै प्रधानमन्त्रीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै किन गर्नुपरेको भनी संसदमा कुरा नउठेको पनि होइन । प्रमुख विपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिमेकीहरुसँग प्रष्ट आफ्नो धारणा राख्न सक्नुपर्ने सुझाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा तेस्रो पटक भारत भ्रमणमा जान लागेका हुन् ।
छिमेकीको नाताले भारत भ्रमण रोजेको प्रष्ट्याएका प्रधानमन्त्री प्रचण्डले यसपालीको भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक एजेण्डा भने तय भइसकेको छैन ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भनेर प्रधानमन्त्रीले भन्न समेत नसकेको भन्दै ओलीले आलोचना गरिरहेकाबेला मंगलबार राष्ट्रियसभाको बैठकमा प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि नै रहेकाले त्यसलाई कुटनीतिक माध्यामबाट फर्काउने बताए ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी समेटिए पनि अहिलेसम्म यो जमीन भारती अधिनमै छ ।
त्यसैले भारतको अधिनमा रहेको नेपाली भूमि फर्काउनुपर्ने माग आम नेपालीको छ । सीमा सम्बन्धि विवादका साथै थाती रहेका अन्य मुद्दाहरु पनि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उठाउनुपर्ने सुझाव विज्ञहरुको छ ।




