
- प्रकाश न्यौपाने
भैरहवा । पछिल्लो समय निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा धमाधम लगानीभइरहेको छ । यसले आन्तरिक मात्रै होइन्, बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।
पछिल्लो पटक रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोड्ने गरी लुम्बिनी केबलकार संचालनमा आएको छ । केबलकार संचालनमा आएसँगै लुम्बिनी प्रदेश थप एउटा पर्यटकीय गन्तव्य थपिएको छ ।
अहिले केबलकार चढ्न आन्तरिकसँगै भारतीयपर्यटकको भीड नै लाग्ने गरेको छ । बुटवलदेखि पाल्पाको बसन्तपुर डाँडा जोडेर निर्माण गरिएको लुम्बिनी केबलकार पुग्न नेपाल–भारत सीमानाका बेलहिया–सुनौलीदेखि करिब ३० किलोमिटर दूरी पर्छ ।
केबलकारको छोटो यात्रापछि टपस्टेशन बसन्तपुर डाँडामा माँकामाख्या देवी, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहननन्दीमा पुजाआजा तथा दर्शन गर्न पाइन्छ ।
केवलकार सञ्चालनमा आएको एक महिनामै धार्मिक एवं स्वदेशी तथा भारतीय पर्यटकको उपस्थिति पहिलेको तुलनामा बढेको छ ।
यसले धार्मिक एवं आन्तरिक पर्यटनलाई समेत थप चलायमान बनाएर पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याएको केवलकार सञ्चालक बताउँछन् ।
संचालनमा आएको एक महिनामा करिब ३० हजार पर्यटकले केबलकारमा यात्रा गरेका छन् ।
जसमध्ये ८७ प्रतिशत आन्तरिक र बाँकी भारतीय तथा तेस्रो मुलुकका पर्यटक छन् । लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएकाले यहाँ नयाँ अनुभव लिने आउने उल्लेख्य छन् ।
पछिल्लो समय मुलुकमा विस्तार भइरहेका केबलकार संजालले पर्यटन क्षेत्रमा नयाँ प्याकेज समेत थप गरिरहेको छ । यसले मुलुकमा पर्यटक भित्र्याउन र बसाइँ अवधि लम्ब्याउन समेत योगदान पुगिरहेको छ भने सरकार र व्यवसायीलाई फाइदा पुगरहेको छ ।