वर्षा नहुँदा राेपाइँ प्रभावित, मुलुकभर कुन प्रदेशमा कति भयो रोपाइँ ?

वर्षा नहुँदा राेपाइँ प्रभावित, मुलुकभर कुन प्रदेशमा कति भयो रोपाइँ ?

काठमाडौँ । असार अन्तिम साता भइसक्दा पनि मुलुकभर धान रोपाइँले गति लिन सकेन, सातै प्रदेशमा रोपाईँको अवस्था कमजोर, साउन १५ सम्म सतप्रतिशत रोपाइँ हुने अनुमान ।।

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन । रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि देशभर गतवर्षको अनुपातमा रोपाइँ कम भएको छ । पानी परे पनि अधिंकाश स्थानमा मुल नफुटेकोले सबै प्रदेशमा ६० प्रतिशत भन्दा बढी रोपाइँ हुन नसकेको हो ।

असार सकिन लाग्दा कर्णाली प्रदेशमा ६० प्रतिशत मात्रै धान रोपाई सकिएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार अहिलेसम्म धान रोपाई हुने कुल क्षेत्रफलको ६० दशमलव ३० जमिनमा मात्रै रोपाई सकिएको हो । गत बर्ष यही समयमा करिब ८० प्रतिशत रोपाई सकिएको भएपनि यस बर्ष ढिलो बर्षा सुरु भएकाले धान रोप्न पनि ढिलो भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

यता, लुम्बिनी प्रदेशको कृषिविकास निर्देशनालयका अनुसार प्रदेशमा रोपाइँ हुने क्षेत्रफलको जम्मा ५४ दशमलव ५२ प्रतिशत रोपाइँ भएको छ । अहिलेसम्म १ लाख ६९ हजार ५७३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ ।

बागमती प्रदेशको अवस्था पनि उस्तै छ । बागमती प्रदेशमा अघिल्लो वर्षको तुलनामा हालसम्मको अवधिमा कम रोपाईँ सम्पन्न भएको छ । अघिल्लो बर्ष असार अन्तिम हप्ता अर्थात अहिलेसम्ममा ६० प्रतिशतभन्दा धेरै रोपाईँ सम्पन्न भैसकेको थियो । यसबर्ष भने समयमै पानीनपर्दा आकाशको पानी कुरेर बस्ने किसानहरुले रोपाईँ गर्न पाएका छैनन् ।

त्यस्तै, मधेश प्रदेशमा अहिले सम्म १८ दशमलव २४ प्रतिशत धान रोपाइ भएको छ । यस प्रदेशमा अहिले सम्म कम्तिमा ७० प्रतिशत धान रोपाइ सक्नु पर्ने थियो तर, समयमा बर्षा नहुदा हाल सम्म ७३ हजार २ सय ७९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको छ ।

गण्डकी प्रदेशको अवस्थापनी गत वर्ष भन्दा कमजोर छ । हलसम्म यहाँ ४७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा वढी तनहुँमा ६६ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा १५ प्रतिशत रोपाइँ भएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

कोशी प्रदेशमा भने रोपाईको अवस्था केही सुधारिएको छ । हाल यहाँ ३६ प्रतिशत धान रोपाई भएको छ । कोशी प्रदेशमा गत बर्ष यो समयमा ३२ प्रतिशत मात्र रोपाइ भएको थियो ।

यता, सुदूरपश्चिम प्रदेशमा पनि धान रोपाईंको अवस्थामा खास प्रगति भएको छैन । सुदूरपश्चिको कैलालीको आँकडा हेर्दा यहाँ ८५ प्रतिशत धान रोपाइ सकिएको छ । गत बर्ष यो समयमा कैलालीमा करिब ९० प्रतिशत रोपाइ भएको थियो ।

यसरी समग्रमा हेर्ने हो भने रोपाईंको अवस्था यस वर्ष कमजोर देखिएको छ । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ प्रारम्भिक अनुमान छ ।

(न्यूज २४ टेलिभिजनका लागि सुर्खेतबाट गोविन्द खत्री, रुपन्देहीबाट प्रकाश न्यौपाने, मकवानपुरबाट सुनिता विष्ट, जनकपुरधामबाट सञ्जिव कुमार झा, कैलालीबाट लोकु सिंह ठकुरी, कास्कीबाट ऋषि बराल र मोरङबाट तारा आचार्यको सहयोगमा)

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *