
कपिलवस्तु २० जेठ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–५ नौरङ्गियामा एकै दिन ५ भैँसी र १ राँगाको मृत्यु भएको छ। स्थानीय बिरे अहिरको मंगलबार बिहान करिब ७ बजे घरनजिकैको खेतमा चरिरहेका जनावरहरू अचानक लम्पसार परे।
मृत भएका जनावरहरू मध्ये भैँसीहरू ब्याउने अवस्थामा थिए भने चार अन्य पशु अझै बिरामी छन्। अहिरले जनाएअनुसार नजिकैको खेतमा लगाइएको चरी घाँस खाएपछि करिब एक घण्टामै ती जनावरहरूको ज्यान गएको हो।
यस घटनापछि गाउँमा त्रास फैलिएको छ। गाउँपालिकाको पशु विकास शाखाका प्रमुख प्रहलाद ठाकुरले प्रारम्भिक आशंका विषालु घाँसतर्फ देखिए पनि मृत्युको यकिन कारण अझै पुष्टि नभएको बताए।
“चरी घाँसमा विषाक्त तत्व भएको हुनसक्छ,” ठाकुरले भने, “तर यकिन भन्न पोस्टमार्टम रिपोर्ट कुर्नुपर्नेछ।”
बिरामी अवस्थामा रहेका भैँसीहरूको तत्काल उपचार थालिएको छ भने मरेका एक राँगाको पोस्टमार्टम गरिएको जनाइएको छ। रिपोर्ट आएपछि मात्र घटनाको वास्तविक कारण सार्वजनिक गरिने पशु सेवा शाखाले जानकारी दिएको छ।