विजयनगरमा नदीजन्य पदार्थ उत्खनन अबैध , पालिका, बन मौन , प्रहरीलाई मापदण्ड थाहै छैन

विजयनगरमा नदीजन्य पदार्थ उत्खनन अबैध , पालिका, बन मौन , प्रहरीलाई मापदण्ड थाहै छैन

घनश्याम भर, विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाका नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्न जेसीबीको प्रयोग भएका छन् । नदीजन्य पदार्थ निकाल्न जेसीबी प्रयोग गर्न नपाइने भए पनि ठेकेदारहरुले खोलामा गैरकानुनी रुपमा जेसीबी प्रयोग गरेका छन् । ठेकेदारहरुले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकाली रहँदा सम्बन्धित निकाय मुकदर्शक भएर बसेका छन् ।

यसरी दिनदहाडै खोलामा हेबी मेसिनरी औजार प्रयोग हुँदा समेत कुनै पनि निकायले कारवाही नगरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले प्रहरी, प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरुको मिलेमतोमा नै नदी दोहन भइरहेको आरोप लगाएका छन् । ठेकेदारले राज्यको सम्पत्ति दोहन गर्नुमा स्थानीय पालिका नै दोषी भन्दै आक्रोसित भएका छन् । उनीहरुले अहिले ठेकेदारहरुले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीमा लुटतन्त्र मचाएको बताएका छन् ।

यसरी खोलामा दोहन भइ रहँदा पर्यावरण वातावारणमा ठुलो असर पर्ने भए पनि सम्बन्धित निकायले कानमा तेल, आँखामा पट्टी बाँधेर बसेको स्थानीयले गुनासो गरेका छन् । मापदण्ड विपरीत उत्खनन् भएकाले खोलामा बाढी आउँदा नदी कटानको सम्भावना रहेको बताए । लगातार बाटोमा टिप्पर दौडि रहँदा जनताको स्वास्थ्यमा असर परेको बताएका छन् । दिनभरी टिप्परका दौडानले स्थानीयबासीलाई समस्या भइरहेको छ । उनीहरुले ठेकेदारलाई बाटोमा पानी हाल्न भने पनि नसुनेँ झैँ गरेको बताए ।

यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोमाराम रिजालले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई कारवाही गर्ने बताए । उनले ठेकेदारले सम्झौता, नियम विपरीत नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन, व्यवस्थापन गरेको पाइएका जिल्ला समन्य अनुगमन समिति लगायत गाउँपालिकाको टीमले कारवाही गर्ने बताए ।ईलाका प्रहरी कार्यालयका प्रमुखलाई सोध्दा आफुलाई नदिजन्री पदार्थको निकासी सम्बन्धि मापदण्ड थाहा नभएको र भोलि पालिकामा गएर बुझ्ने बताए ।

अहिलेसम्म कुनै पनि निकायले खोलामा अनुगमन गर्न पुगेका छैनन् । बिसहवा खोला, गंगटे खोला, चिरई खोला र सुक्खा खोलामा जेसीबी प्रयोग भएका छन् । एन.बी. कन्ट्रक्शन शिवराजले बिसशवा खोला, विभू निर्माण सेवा सैँबु ललितपुरले गंगटे खोला, शिवगढी एन.आइ.पी निर्माण सेवा देवीचौर ललितपुरले चिरई खोला र लामा-गोल्डेन-शिवशक्ति जेभी महाराजगञ्ज काठमाडौँले सुक्खा खोलाको ठेक्का पाएको छ ।

यति मात्र होइन यी ठेकेदारहरुले जङ्गलमा नै डम्पिङ समेत गरेका छन् । विसहवा खोला र सुक्खा खोलाको नदीजन्य पदार्थको ढुवानी गर्दा जङ्गलसमेत मासिएको पाइएको छ । जङ्गलमा भएका बोट बिरुवा मासेर गाडी बाटोमा परिणत गरेका छन् । यस्तै चिरई खोलामा नजिकै उत्खनन् गरेर खोला छेउमै घाटघद्दीसमेत गरेको पाइएको छ । नदीजन्य पदार्थ निकासीका लागि विभिन्न मापदण्ड मिचेर ठेकेदारले दादागिरी शैलीमा नदी दोहन गरिरहेका छन् । सूचना पार्टी अनिवार्य भए पनि ठेक्का भएका ४ ओटै खोलामा सूचना पार्टी नराखी धमाधम अवैद्य नियम विपरीत कार्यमा ठेकेदारहरु संलग्न भएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *