२ मंसिर ।
कपिलवस्तु, विजयनगर गाउँपालिका-वार्ड नम्बर ३ मा आयोजित तीन दिने नि:शुल्क आँखा जाँच शिविर शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा, सेचेन करुणाको आर्थिक सहयोग र तिलगंगा शल्यक्रिया आँखा केन्द्र दाङको प्राविधिक सहकार्यमा शिविर सम्पन्न भएको हो।
शिविरमा विभिन्न उमेर समूहका ३१७ स्थानीय बासिन्दाको आँखा जाँच गरिएको थियो। आँखाका समस्या भएका बिरामीहरूलाई निशुल्क औषधि वितरण र १०८ जनालाई चश्मा प्रदान गरिएको थियो भने गम्भीर समस्या भएका ३५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ।
गाउँपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष हृदय बिकास चौधरीले जनताको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न यस्ता शिविर प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। शिविरमा ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो।
यो शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको स्थानीयहरूले बताएका छन्।