पोखरा । केही विद्यार्थी परालबाट गुन्द्री, चोयाँबाट डोको, कोर्को, पातबाट दुनाटपरी बुन्न व्यस्त छन् । साथै केही विद्यार्थी आविस्कार, लोकनृत्य, कविता वाचन चित्रकलामा मग्न छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालित बृहत् बालप्रतिभा पहिचान महोत्सव विद्यार्थीका लागि सिकाइ केन्द्र बनेको छ । एनप्याव्सन कास्की आयोजनामा शुक्रबारदेखि सुरु महोत्सवमा विभिन्न ११ विधामा प्रतियोगिता राखिएकोमा आफ्नो क्षमताअनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले प्रतिभा देखाएका हुन् ।
विद्यार्थीलाई महोत्सवमा सहभागिता जनाउन हरेक विद्यालयले पूर्व तयारीका लागि लामो समयदेखि विद्यालयमा विद्यार्थीका प्रतिभा पहिचानका लागि कार्यक्रम गर्दै आएका थिए ।
हरेक विद्यार्थीमा केही न केही क्षमता हुने भएकोले विद्यार्थीका ती क्षमतालाई उजागर गर्र्न यसपालि फरक ढंगले कार्यक्रम आयोजना गरेको एनप्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
महोत्सवमा नेसनल प्याब्सान कास्कीअन्तर्गतका ४७ वटै विद्यालयका विद्यार्थीले भाग लिएका छन्
‘पुरानो संस्कृतिदको संरक्षणदेखि नयाँ आविस्कारसम्म विद्यार्थी आफैँले बनाएर यो महोत्सवमा प्रदर्शन गरेका छन्,’ अध्यक्ष अधिकारीले भने, ‘विद्यार्थी पढाइको अलावा सिकाइको क्षेत्रमा अब्बल छन् भन्ने यो महोत्सवले सन्देश दिएको छ ।’
गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेशका कुलपति सूर्य खड्का बिखर्चीले भाषा संस्कृतिको जर्गेना गर्ने काम एनप्याव्सन कास्कीले गरेको उल्लेख गरे । महोत्सवमा विभिन्न विधामा १ हजार ६ जना विद्यार्थी प्रतियोगितामा सहभागिता जनाएको एनप्याव्सन कास्की सचिव प्रेमराज अधिकारीले जानकारी दिए । महोत्सवमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, आविस्कार, अपसाइक्लिङ, रिसाइक्लिङ, कम्प्युटर टाइपिङ, पात, पराल छ्वाली, चोयाँबाट बनेका सामग्री बनाउने प्रतियोगिता रहेका छन् ।
एनप्याव्सनले खेलकुद महोत्सव र शैक्षिक मेला एक वर्ष बिराई गर्दै आएकोमा यस पटक शैक्षिक मेलालाई परिमार्जित गरेर बालप्रतिभा पहिचान महोत्सव आयोजना गरेको हो ।
प्रदर्शनीमा नेसनल प्याब्सान कास्कीअन्तर्गतका ४७ वटै विद्यालयको सहभागिता रहेको छ । जसको करिब १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान रहेको छ । कार्यक्रम सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव आइतबारसम्म चल्नेछ ।